
बुधवार , भाद्र १९, २०८१
दाङ, १९ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली मौलिक कला संस्कृतिहरुलाई असर गर्ने गरी विकृति भित्रिन थालेकोप्रति चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय तीज पर्वमा भित्रिन खोजेको विकृति विसंगती रोक्ने जिम्मेवारी सबैको भएको उनले बताए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा तीज पर्वको अवसरमा बुधवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले तीज संस्कृतिको जगेर्ना गरेर अघि बढ्नु सबैको कर्तव्य भएको बताए ।
मौलिक कला–संस्कृतिको जगेर्ना गर्दै भित्रिन खोजेको विकृति विसंगतिलाई रोक्ने गरी पर्व मनाउन उनको आग्रह छ । ‘तीजलाई भड्किलो बनाउन खोजिएको छ । विकृतिले घेर्न थालेको छ । उनले भने,‘भड्किलो तीजलाई निरुत्साहित गर्ने जिम्मेवारी सबैको हो । यसतर्फ पनि हामीले ध्यान दिनुपर्ने छ ।’
शुभकामना आदानप्रदान कार्यक्रममा लुम्बिनी प्रदेशका कायम मुकायम प्रमुख सचिव महादेव पन्थ, मन्त्रालयका सचिव लगायत कर्मचारीहरुको सहभागीता थियो ।
हरितालिका तीजको अवसरमा लुम्बिनी प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij