
बुधवार , भाद्र १९, २०८१
दाङ, १९ भदौ ।
लुम्बिनी प्रदेश सरकाले बड्का अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेशका थारू समुदायको बसोबास धेरै रहेका ६ जिल्लामा सार्वजनिक बिदा दिने भएको छ । थारु समुदायको बसोजास बढी रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक गरेको छ ।
थारू समुदायमा महत्वका साथ मनाइने बर्का अट्वारी पर्व यस वर्ष भदौ २३ गते आइतबार परेको छ । यो पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘ब्रत’ बस्ने चलन छ । यो पर्वमा निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने साँस्कृतिक मान्यता छ ।
थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन् । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ ।
आइतवार मनाइने हुँदा यो पर्वको नाम अट्वारी राखिएको मान्यता छ । आइतबारलाई रविवार पनि भनिन्छ । रवि अर्थात् सूर्य । सूर्य अग्निको प्रतीक पनि हो । प्रंकृति पूजक थारू समुदायले विशेष गरी सूर्यको उपासना, पूजाआजा गरी बर्का अट्वारी पर्व धुमधामका साथ मनाउने प्रचलन रहिआएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij