२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रेडक्रस स्थापना दिवस : भैरहवामा जिल्लास्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता

बिहिवार , भाद्र २०, २०८१

भैरहवा, २० भदौ ।
नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसको अवसरमा रेडक्रस रुपन्देही जिल्ला शाखाले जिल्लास्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । भैरहवामा आयोजित कार्यक्रमको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले सिद्धार्थ उद्योग वाणिज्य संघ र रेडक्रस रुपन्देहीबीच घनिष्ट सम्बन्ध रहिआएको बताए । उनले संघ र रेडक्रस एक–अर्काका पूरक भएको बताए । उनले भने, विपद् पर्दा रेडक्रस पहिला आउँछ । रेडक्रसले महत्वपूर्ण कार्य गर्दै आएको छ । उनले यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई भविष्यमा सेवा भावका साथ काम गर्ने प्रेरणा प्रदान हुने विश्वास व्यक्त गरे ।

त्यस्तै रेडक्रस रुपन्देही जिल्ला शाखाका सभापति दीपक क्षेत्री न्यौपानेले वक्तृत्वकला प्रतियोगितामा रुपन्देहीमा रहेका २० उपशाखामध्ये १७ वटा उपशाखाबाट ३७ जना विद्यार्थीहरुको सहभागीता रहेको बताए । उपशाखाले आयोजना गरेको प्रतियोगितामा सहभागी भइ छनौट भएका विद्यार्थीहरु जिल्लास्तरीय अन्तर विद्यालय वक्तृत्तकला प्रतियोगितामा भाग लिएको उनले जानकारी दिए । 

रेडक्रस रुपन्देही शाखाका उपसभापति रुपमा हिराचनको आस्था पाठ, जिल्ला सदस्य टेक बहादुर थापाको स्वागत तथा मन्त्री रामचन्द्र उपाध्यायको सञ्चालनमा भएको प्रतियोगितामा रेडक्रस रुपन्देहीका कोषाध्यक्ष सुशील गुरुङ, निवर्तमान जिल्ला सभापति प्रेमलाल उदास, महेन्द्र कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । 

प्रतियोगितामा युवा रेडक्रस सर्कलतर्फ न्यू होराइजन इङलिस बोर्डिङ स्कूल बुटवलकी आयुष्मा ज्ञवाली प्रथम, एभरेष्ट बोर्डिङ स्कूल बुटवलकी नेहारिका ज्ञवाली द्वितीय, पश्चिमाञ्चल इङलिस हाई स्कूल भैरहवाका निर्जल पोखरेल तृतीय भएका छन् । त्यस्तै जुनियर रेडक्रस सर्कलतर्फ दिव्यज्योति बोर्डिङ स्कूल गैडहवाकी अंशिका चौधरी प्रथम, रामापुर भिभाइल इङलिस बोर्डिङ स्कूलका विपिन पन्थी द्वितीय र न्यू एकेडेमी बोर्डिङ स्कूल सैनामैनाकी सुदिक्षा थापा क्षेत्री तृतीय भएको निर्णयक शैलेन्द्र कुमार तुलाधरले जानकारी दिए ।

प्रतियोगितामा दुवै विधातर्फ (युवा र जुनियर रेडक्रस सर्कल) प्रथम हुनेलाई नगद रु. ५ हजारसहित रनिङ ट्रफी, द्वितीयलाई नगद रु. ४ हजारसहित ट्रफी र तृतीय हुनेलाई नगद रु. ३ हजारसहित ट्रफी पुरस्कार प्रदान गरिएको थियो । ‘विपदमा रेडक्रस र मानवता’ शिर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा युवा रेडक्रस सर्कलतर्फ विमला पोखरेल, कविता रिजाल देवकोटा, अल्ताफ हुसेन खान र जुनियर रेडक्रस सर्कलतर्फ शैलेन्द्र कुमार तुलाधर, संजीव बस्याल र पुष्पालक्ष्मी श्रेष्ठ निर्णायक थिए ।