२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सियारीमा आईएसओ प्रमाणपत्रका लागि छलफल

बिहिवार , भाद्र २०, २०८१

भैरहवा, २० भदौ । 
रुपन्देहीको सियारी गाउँपालिका अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्रका लागि तयारीमा जुटेको छ । पालिकाको सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउँदै नागरिकलाई सहज र गुणस्तरीय सेवा पुर्याउँदै आएको सियारीले आफूले प्रदान गरेको सेवा प्रवाहलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बनाउने गरी काम थालिएको पालिएको जनाएको छ । 

अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्रदान गर्ने संस्था ग्लोबल क्वालिटी काउन्सीलले सियारी गाउँपालिकामा छलफल चलाएको छ । आईएसओ प्रमाणपत्र प्राप्त गर्नका लागि स्थानीय पालिकाले विभिन्न चरणहरू पालना गर्नुपर्ने ग्लोबल क्वालिटी काउन्सीलका नेपालका प्रमुख सुदिप शर्माले जानकारी दिए । 

आईएसओ प्राप्त गर्नका लागि सेवा तथा व्यवस्थापनमा सहजीकरण गर्नुपर्ने, तोकिएको जिम्मेवारी तोकिएकै समयमै पुरा गर्नुपर्ने, सेवा प्रवाहमा विशेष जोड दिनुपर्ने तथा काउन्सीलले तोकेका मापदण्डहरु पुरा गर्नुपर्ने शर्माको भनाइ छ । 

सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले पालिकालाई आगामी एक वर्षभित्र पालिकालाई आईएसओ प्रमाणपत्र लिने गरी काम थालिएको बताए । अध्यक्ष घिमिरेले सियारीले प्रदान गर्ने सेवा प्रवाहलाई गुणस्तरीय, प्रभावकारी र पूर्णतया नागरिकमैत्री बनाउँदै लैजाने बताए । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले कर्मचारी प्रशासनले आईएसओ प्रमाणपत्र प्राप्त गर्नका लागि गर्नुपर्ने काम र तयारीका लागि जुट्ने बताए ।
नेपालमा स्थानीय पालिकाको रुपमा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण पत्र (आईएसओ) रुपन्देहीको तिलोत्तमा नगरपालिकाले प्राप्त गरेको छ ।