२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

हेल्मेटको बेल्ट अनिवार्य लगाउने जनचेतना कार्यक्रम सम्पन्न

बिहिवार , भाद्र २०, २०८१

भैरहवा, २० भदौ ।
नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा बुधबार रुपन्देहीको भैरहवामा हेल्मेटको बेल्ट अनिवार्य लगाउने जनचेतना कार्यक्रम गरिएको छ ।

सि.बि. पब्लिक जुनियर रेडक्रस सर्कल, युवा रेडक्रस सर्कल, बाल क्लब र सि.बि पब्लिक हाई स्कूल सिद्धार्थनगर नगरपालिका–७, रुपन्देहीको आयोजनामा सिद्धार्थ राजमार्ग (विद्यालयको पूर्वपट्टीको लेनमा) कार्यक्रम गरिएको प्रिन्सिपल उदय कुमार मल्लिकले बताए । प्रिन्सिपल मल्लिकका अनुसार कार्यक्रम बिहान ९ देखि दिउँसो ३ः३० बजेसम्म सञ्चालन भएको थियो ।

कार्यक्रम अवधिभर २ हजार ६ सय १० मोटरसाइकल सोही सडकमा गुडेको र जसमध्ये ५६५ जना अर्थात २१ दशमलव ६४ प्रतिशत चालकले हेल्मेटको बेल्ट नलगाएको पाइएको उनले जानकारी दिए । त्यस्तै ७ जना मोटरसाइकल चालकले हेल्मेट नै लगाएका थिएनन् । कार्यक्रममा हेल्मेटमा बेल्ट नलगाएका चालकलाई विद्यार्थीहरुले रोकेर, पानी खुवाएर, बेल्ट लगाइदिएका थिए र आगामी दिनमा लगाउन आग्रह समेत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्रमुख वक्ता नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति दीपक क्षेत्री न्यौपानेले मोटरसाइकल चदाउँदा अनिवार्य हेल्मेट लगाउनुपर्ने र हेल्मेटको बेल्ट पनि अनिवार्य लगाउनुपर्ने बताए । उनले दुर्घटना जुनसुकै बेला हुन सक्ने भएकाले विशेष गरी टाउको बचाउन पनि हेल्मेटको बेल्ट अनिवार्य लगाउनुपर्नेमा जोड दिए । रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसको अवसरमा वक्तृत्वकलासहित विभिन्न कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।

विद्यालयका शिक्षक नायक गोविन्द थापा मगरको सञ्चालनमा भएको कार्यक्रममा रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाका सभापति राजेश जि.सी., निवर्तमान सभापति बसन्त कुमार लाल कर्ण, सचिव राम प्रसाद सापकोटा, सि.बि. पब्लिक हाई स्कूलका प्रिन्सिपल एवं जुनियर तथा युवा रेडक्रस सर्कलका संरक्षक उदय कुमार मल्लिक, स्कूलकी भाइस–प्रिन्सिपल उजली कुमार सोनीको आतिथ्यता रहेको थियो ।

Redcross (2).jpeg
Redcross (3).jpeg
undefined