
बिहिवार , भाद्र २०, २०८१
भैरहवा, २० भदौ । क्षयरोगको नियन्त्रणका लागि रुपन्देही र नवलपरासी जिल्लामा विशेष अभियान चलाइने भएको छ । नेपालमा बढ्दो अवस्थामा रहेको क्षयरोगलाई नियन्त्रणका लागि रुपन्देही र नवलपरासीमा विशेष अभियान चलाउन थालिएको हो । नेपालमा दुई प्रकारका क्षयरोगका बिरामी रहेका छन् । एउटा एक्टिभ र अर्को ल्याटेन ।
झण्डै ५० प्रतिशत नागरिकमा क्षयरोगका किटाणु सुसुप्त अवस्थामा रहेको क्षयरोग नियन्त्रण केन्द्रका सिनियर मेडिकल टेक्नोलोजिष्ट पद्मनाभ घिमिरेले जानकारी दिए । उनले सुसुप्त अबस्थामा रहेका क्षयरोगका किटाणुको पहिचानका लागि विराट नेपाल मेडिकल ट्रष्ट (बिएनएमटी) को सहकार्यमा दुई जिल्लामा विशेष अभियानको रुपमा कार्यक्रम सुचारु गरिएको बताए ।
क्षयरोग नियन्त्रण केन्द्रले विराट नेपाल मेडिकल ट्रष्टको सहकार्यमा क्षयरोगसँग नजिक रहेका घरपरिवारका सदस्यहरुको खकार जाँच गर्ने, छातीको एक्स–रे गर्ने, सिवाईटिबी टेष्ट, मलिकुलर गर्ने र त्यसको रिपोर्टको आधारमा औषधी चलाउने बताए ।
सिवाईटिबी टेष्ट पोजेटिभ आएमा ल्याटेन टि.वी. लागेको प्रमाणित हुने र त्यसका लागि हप्ताको एक डोजका हिसाबले ३ महिनामा १२ डोज औषधी खाएपछि रोग निको हुने घिमिरेले जानकारी दिए ।
कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विराट नेपाल मेडिकल ट्रष्टले सरोकारवाला संस्था र व्यक्तिहरुसँग अन्तरक्रिया तथा छलफल चलाएको छ ।
राष्ट्रिय क्षयरोग केन्द्रका प्रमुख कन्सल्टेण्ट चेष्ट फिजिसियन डा. नवीन प्रकाश शाहले यो सिआरआईटिआईसी परियोजना नेपाल सरकारले लिएको क्षयरोगमुक्त नेपालको परिकल्पनालाई साकार पार्न मद्दत गर्ने बताए ।
बिएनएमटी नेपालले विगत ६० वर्षदेखि नेपालमा क्षयरोग नियन्त्रणको क्षेत्रमा स्थानीय सरोकारवालासँग साझेदार गरी काम गर्दै आएको संस्थाका कार्यकारी रघु धितालले जानकारी दिदै यस परियोजनामा पनि स्थानीय सरकारसँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन जानकारी दिए ।
भैरहवामा आयोजित छलफल कार्यक्रममा क्षयरोग लाग्न नदिनका लागि त्यसको पूर्वतयारी र क्षयरोग लागेका व्यक्ति तथा परिवारको पहिचान गरी नियन्त्रण गर्ने विषयमा छलफल गरिएको विराट नेपालका राष्ट्रिय कार्यक्रम संयोजक ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनले कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि स्वास्थ्य कार्यालय, स्थानीय सरकार मातहत रहेको स्वास्थ्य शाखा तथा सरोकारवाला निकाय तथा व्यक्तिले विशेष चासो देखाउनुपर्नेमा जोड दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij