
शुक्रवार , भाद्र २१, २०८१
भैरहवा, २१ भदौ ।
ग्रीन युथ अफ लुम्बिनीले वातावरण अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धी एकदिवसीय सचेतना तालिम सञ्चालन गरिरहेको छ । युएसएडको जैविक विविधता–जल, जंगल) को सहयोगमा भदौ १० गतेदेखि रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका २ नम्बर वडा कार्यालयबाट यो तालिम सुरु गरिएको हो ।
हालसम्म रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका, सिद्धार्थनगर नगरपालिका, गैडहवा गाउँपालिका, मर्चवार क्षेत्र, कपिलवस्तुको कपिलवस्तु नगरपालिका र शुद्धोधन गाउँपालिकामा तालिम सम्पन्न भइसकेको आयोजक संस्था ग्रीन युथ अफ लुम्बिनीका अध्यक्ष अर्जुन कुर्मीले बताए । हालसम्म तालिममा ५ सय जना बढी सहभागी भइसकेको अध्यक्ष कुर्मीले जानकारी दिए । उनका अनुसार तालिममा साझेदारी वन समूह, सामूदायिक वन उपभोक्ता समितिका पदाधिकारी, सदस्य, कृषक अगुवा, इको क्लबमा आबद्ध विद्यार्थी, जनप्रतिनिधि लगायत सहभागी हुने गरेका छन् । तालिम भदौ मसान्तसम्म सञ्चालन हुने उनले जानकारी दिए ।
वातावरण अपराधलाई रोकथाम गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको कुर्मीले बताए । ‘शिक्षा तथा तालिमका माध्यमबाट वातावरण अपराध रोकथामका लागि सचेतना जगाउन आवश्यक छ । हामी सीमा क्षेत्रमा छौं । वन्यजन्तुको चोरी सिकारीको घटना पनि हुने गरेका छन् । वातावरण संरक्षण गर्नु हामी सबैको जिम्मेवारी हो, ’उनले भने ।
युवा संरक्षणकर्मीको रुपमा परिचित अर्जुन कुर्मीले तालिममा प्रशिक्षण दिदै आएका छन् । तालिममा वन ऐन, वन्यजन्तुको संरक्षण, सुरक्षा, वन्यजन्तुको कारणले हुने हानी नोक्सानीपछि सरकारबाट पाइने क्षतिपूर्ति लगायत विषयमा प्रशिक्षण प्रदान गरिदै आएको प्रशिक्षक कुर्मीले बताए ।
वि.सं. २०१३ सालमा स्थापना भएको ग्रीन युथ अफ लुम्बिनीले सचेतना, वृक्षरोपण, वन्यजन्तु संरक्षण, पशुंपक्षी (सारस) संरक्षण लगायत अभियान सञ्चालन गर्दै आएको उनले जानकारी दिए । हामी वातावरण तथा वन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्दै आएका छौं । ‘गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा सारसको संख्या बढेको छ । त्यस्तै यहाँ बेलाबेलामा दुर्लभ वन्यजन्तु देखा पर्ने गरेका छन्, ’उनले भने ।
ग्रीन युथ अफ लुम्बिनीका अध्यक्ष अर्जुन कुर्मीले २०२१ मा योंग कन्जरभेसन लिडर अवार्ड–२०२१ बाट सम्मानित भइसकेका छन् ।
वातावरण संरक्षण अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको ग्रीन युथ अफ लुम्बिनीका संरक्षक अजय सिंह क्षेत्रीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij