२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पूर्व विद्यार्थीले बनाए विद्यालय जाने अस्थायी पुल

शुक्रवार , भाद्र २१, २०८१

भैरहवा, २१ भदौ ।

रुपन्देहीको मर्चवार क्षेत्रमा अज्ञात समूहले भत्काएको विद्यालय पुग्ने अस्थायी पुल सोही विद्यालयका पूर्व विद्यार्थीहरुले निर्माण गरेका छन् । मर्चवारी गाउँपालिका वडा नम्बर ६ स्थित श्री ठर्की माध्यमिक विद्यालयमा पुग्ने बाटोमा निर्माण गरिएको अस्थायी पुल गत मंगलबार अज्ञात समूहले भत्काएको विद्यालयका प्रधानाध्यापक बलिराम यादवले बताए । 

पुल भत्किएपछि विद्यार्थीहरुले सास्ती खेप्नुपरेको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि उक्त विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुले संयुक्त लगानीमा अस्थायी काठको पुल निर्माण गरेको प्रधानाध्यापक यादवले बताए । उनले भने, ‘पुल निर्माण गर्ने विद्यार्थीहरुको नाम खुल्न सकेको छैन । नाम जानकारी पाएपछि उहाँहरुलाई सम्मान गर्नेछु ।’ पुल भत्काउने कार्यमा संलग्न व्यक्तिहरुलाई कारवाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय मझगाँवामा उजुरी दिएको प्रधानाध्यापक यादवले जानकारी दिए ।

पुल निर्माणपछि विद्यालय पुग्न सहज भएको कक्षा १० मा अध्ययनरत विद्यार्थी गुलाब खटिकले बताए । उनले भने, ‘काठको अस्थायी पुल भए पनि विद्यालय पुग्न खासै समस्या छैन । पहिला विद्यालय पुग्ने समय र छुट्टीको समय निकै भीड हुने गर्दथ्यो ।’