२०८३, श्रावण २ गते

Jul 18 2026 | २०८३, श्रावण २ गते

जनउत्तरदायी भएर सेवा प्रवाहमा जुट्न निजामती कर्मचारीहरुलाई मुख्यमन्त्री आचार्यको आह्वान

शनिवार , भाद्र २२, २०८१

  • 994
    Shares
  • 994
    Shares
  • अर्घाखाँची, २२ भदौ ।
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनउत्तरदायी भएर सेवा प्रवाहमा जुट्न निजामती कर्मचारीहरुलाई आह्वान गरेका छन् । निजामती सेवा दिवस २०८१ अवसरमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले शनिवार आयोजना गरेको शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सेवा प्रवाहलाई चुस्त, छिटो छरितो, विश्वासिलो र जनउत्तरदायी बनाउन आह्वान गरेका हुन् । 

    कर्मचारीहरुप्रति समाजले हेर्ने दृृष्टिकोणमा परिवर्तन आउन थालेको भन्दै सकारात्मक परिवर्तनका लागि कर्मचारीले प्रदान गर्ने सेवा प्रवाहमा पारदर्शीता, जवाफदेही र उत्तरदायीपूर्ण हुनुपर्ने मुख्यमन्त्री आचार्यको भनाइ छ ।

    ‘हरेक क्षेत्रमा पारदर्शीता, जवाफदेही अनि उत्तरदायित्व आवश्यक पर्छ । कर्मचारीले दिने सेवामा यी विषय महत्वपूर्ण हुने भएकाले ध्यान दिन जरुरी छ’उनले भने–‘कर्मचारीप्रति समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सेवा प्रवाहलाई नागरिकमैत्री, सुशासन र जवाफदेहीयुक्त बनाउन जरुरी छ ।’

    सम्बोधनको क्रममा मुख्यमन्त्री आचार्यले हुने कामहरुलाई पनि कानूनी कुरा देखाएर अलमल्याउने काम गर्न नहुनेमा जोड दिए । ‘छिटोछरितो सेवाको आवश्यकता छ । तर, हामी हुने कामलाई पनि कानूनको शिरानी हालेर, कानूनको आड लिएर कतिपय गाँठोहरु आफै पार्ने गर्छाैं’ उनले भने–‘म विनम्रताका साथ अनुरोध गर्न चाहन्छु, हामीले कानूनको गाँठो पारेर, त्यो शिरानी हालेर जनसेवा हुन सक्दैन । यदि कानुन गाँठो परेको छ भने त्यसलाई कसरी फुकाउन सकिन्छ, हामी त्यसको निकास खोज्नतिर लाग्न जरुरी छ ।’

    मुख्यमन्त्री आचार्यले कर्मचारी तहले बल्झाउने भन्दा निकास खोज्ने काममा सक्रियता बढाउन जरुरी रहेको धारणा राखे । ‘मैले धेरै ठाउँमा देख्ने गर्छु । निकास खोज्न भन्दा बल्झाउनेतिर जाने जुन खालेको हाम्रो परिपाटी को विकास भएको छ, यसको अन्त्य हुन जरुरी छ । मुख्यमन्त्री आचार्यले भने–‘प्रदेश सरकार निजामती कर्मचारीहरुको हौसला र उत्साह बढाउन तयार छ । त्यहीअनुसार निजामती सेवा ऐनहरुमा वृत्ति विकासका अवसरहरु समावेश छन ।’ 

    त्यस्तै प्रदेशमा देखिएको कर्मचारीको अभाव हटाउन लोक सेवा आयोगमार्फत झण्डै २ हजार कर्मचारी भर्नाको विज्ञापन खोल्ने तयारी सरकारले गरेको मुख्यमन्त्री आचार्यले जानकारी दिए । निजामती कर्मचारी दिवसको अवसरमा आयोजित विभिन्न प्रतियोगितामा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत तथा सम्मानित गरिएको छ ।