
शनिवार , भाद्र २२, २०८१
भैरहवा, २२ भदौ ।
लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले कर्मचारी जनताप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिएका छन् । उनले कर्मचारीले जनताको मन जित्ने खालको काम गर्नुपर्ने बताए ।
निजामती सेवा दिवस, २०८१ को अवसरमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आयोजना तथा कर्मचारी मिलन केन्द्र, रुपन्देही र आधिकारीक ट्रेड युनियन जिल्ला कार्यसमिति रुपन्देहीको संयोजन एवं व्यवस्थापनमा शनिबार भैरहवामा भएको कार्यक्रममा पूर्वअध्यक्ष मैनालीले यस्तो बताएका हुन् । जनताको मन जित्ने खालको काम गर्न ढिलाइ भइसकेको उनले बताए ।
उनले भने, ‘जनताले तिरेको करबाट तलब खाएर समाजसेवा गर्ने निजामती लगायत सार्वजनिक सेवा हो । आफूले गर्न सक्ने सुधार गरौं । सुधार गर्नुपर्ने धेरै कुराहरु छन् । जनताप्रति उत्तरदायी बन्नुपर्छ । आफूले गर्ने काममा अरुलाई दोष दिएर हुँदैन ।’
उनले निजामती र सार्वजनिक सेवामा सुधार गर्नुपर्ने र सुधार भए विकास हुने बताए । उनले विकास र सुशासनमा निजामती सेवाको भूमिका महत्वपूर्ण हुने बताए । उनले समय अनुसार चल्नुपर्ने र नयाँ प्रविधि ग्यारेण्टीका साथ भित्र्याउनुपर्नेमा जोड दिए । नयाँ प्रविधिमा गएपछि भ्रष्टाचार न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।
पूर्वअध्यक्ष मैनालीले सेवाग्राहीलाई कार्यालयबाट हसिलो मुहारमा फर्किने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘एकले जानेको कुरा अरुलाई नसिकाउने प्रवृत्ति छ । कर्मचारीतन्त्रमा राजनीति प्रवेश भयो । अहिले निजामती सेवाको शाख गिरेको छ । त्यसैले आफ्नो कमीकमजोरीको आत्मलोचना गरेर अगाडि बढ्नुपर्छ । सुधार गर्ने संकल्प लिनुपर्छ । हामी जनताभन्दा माथि होइनौ । ’
उनले नियुक्त र निर्वाचित प्रतिनिधि लय मिलाएर काम गर्नुपर्नेमा जोड दिए । आमूल परिवर्तनमा सहभागी भएका निजामती कर्मचारीलाई अहिले देशमा योगदान गर्न, विकासमा फड्को मार्न र काम गर्न कसले रोक्यो भन्दै उनले प्रश्न गरे ।
त्यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आफूहरुको टीमवर्कको कारण जिल्ला प्रशासन कार्यालय रुपन्देही देशमै १ नम्बर भएको बताए । उनले भने, ‘कार्यसम्पादनमा रुपन्देही प्रथम हुनुमा तपाई हामी सबैको भूमिका छ । अभिभावकीय भूमिकामा चल्न प्रयत्न गरेकै हो । अलि फरक बाटो हिंड्न खोजेकै हो ।’ उनले नागरिकको सन्तुष्टी र नागरिकमैत्री सेवा सिस्टमले खोजेको बताए ।
कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष उत्सव न्यौपानेले प्रविधिको विकाससँगै भ्रष्टाचारको अन्त्य हुने बताए । नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीका अध्यक्ष चक्रपाणि पाण्डेले संघीय निजामती सेवा ऐन आउन नसकेकाले राज्यले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालले संघीय निजामती सेवा ऐन नआउँदा प्रदेश र स्थानीय तहमा असर पुगेको बताए ।
आधिकारीक ट्रेड युनियन जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष रमेश प्रसाद पाण्डेले निजामती सेवा दिवसलाई आफ्नो समीक्षा गर्ने दिनको रुपमा लिएको बताए ।
जिल्ला निर्वाचन कार्यालय प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालको स्वागत तथा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
‘व्यवसायिक र सिर्जनशील प्रशासन, विकास, समृद्धि र सुशासन’ नाराकासाथ निजामती दिवस–२०८१ विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij