२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कार्यान्वयनमा आयो प्रदेश सरकारको निर्णय, पूर्वमुख्यमन्त्री केसीले फिर्ता गरे गाडी

आइतवार , भाद्र २३, २०८१

दाङ, २३ भदौ ।
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुल प्रसाद केसीले सरकारी गाडी फिर्ता गरेका छन् । लुम्बिनी प्रदेश सरकारले पूर्व विशिष्ट व्यक्तिहरुले पाउँदै आएको सेवासुविधा फिर्ता लिने निर्णय गरेपछि पूर्वमुख्यमन्त्री केसीले प्रयोग गर्दै आएको लु १ झ ७४५ नम्बरको स्कार्पियो गाडी मुख्यन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता गरेको वरिष्ठ शाखा अधिकृत देवीराम भण्डारीले जानकारी दिए । भदौ २० गते बिहीवार मुख्यमन्त्री कार्यालयमा चालकमार्फत पूर्वमुख्यमन्त्री केसीले गाडी फिर्ता गरेका थिए ।

भदौ ६ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले पूर्व विशिष्ट व्यक्तिलाई दिदै आएको सेवासुविधा फिर्ता लिने निर्णय गरेको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले फजुल खर्च घटाउने योजना बनाएअनुसार पूर्व विशिष्ट व्यक्तिलाई दिदै आएको सेवासुविधा फिर्ता लिने निर्णयमा पुगिएको बताए । 

वि.सं. २०७९ भदौ ३१ गते बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले पूर्व विशिष्ट पदाधिकारीका लागि सेवासुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । यो निर्णयका आधारमा पूर्वमुख्यमन्त्री तथा सभामुखले सेवासुविधा लिदै आएका थिए । पूर्व विशिष्ट व्यक्तिले गाडी, इन्धन, मर्मत, चालक, पीएसओको सुविधा पाउने गरेका थिए । आर्थिक संकट निम्तिएको समयमा मितव्ययीता अपनाउनको लागि पूर्व विशिष्ट व्यक्तिहरुलाई दिदै आएको सेवासुविधा फिर्ता गर्ने निर्णय वर्तमान प्रदेश सरकारले गरेको हो । 

पहिलो प्रदेश सभाका सभामुख पूर्ण बहादुर घर्ती मगरले पनि पूर्व विशिष्ट व्यक्तिलाई दिदै आएको सेवासुविधा अन्तर्गत सरकारी गाडी प्रयोग गर्दै आएका छन् । पूर्व सभामुख घर्तीले प्रदेश सभाका सचिव दुर्लभकुमार पुनलाई आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्ने बारेमा जानकारी गराएको जनाइएको छ ।