२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रामग्राम स्तूप परिसरमै मदिराको व्यापार, तत्काल रोक्न नागरिक समाजको माग

सोमवार , भाद्र २४, २०८१

परासी, २४ भदौ । 
भगवान गौतमबुद्धको अस्थिधातु रहेको स्थल रामग्राम स्तूप परिसरमा अवैध रुपमा मदिराको व्यापार भइरहेको भन्दै नागरिक समाजले आपत्ति जनाएको छ । शान्ति क्षेत्रलाई भंग हुने गरी स्तूप परिसरमै मदिराको व्यापार हुँदा अन्र्तराष्ट्रियस्तरमै नकारात्मक सन्देश जाने नागरिक समाजको दावी छ । 

रामग्राम नगरपालिका वडा नम्बर ७ स्थित रामग्राम स्तूपको परिसर पूर्वतर्फ शौचालय नजिकै अनाधिकृत रुपमा टहरा निर्माण गरी मदिरा लगायतको व्यापार भइरहेको भन्दै नागरिक समाज नवलपरासीले तत्काल हटाउन माग गरेको हो । स्तूप क्षेत्रमा स्थानीय सरकारलाई समेत कुनै संरचना बनाउन नदिने पुरातत्व विभाग र लुम्बिनी विकास कोषले स्तूप परिसरमै टहरा बनाएर मदिराको कारोबार गर्दा पनि मुकदर्शक बनेको नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवारले बताए ।

स्तूपकै परिसरमा टहरासहितका संरचना बन्दा पनि रामग्राम नगरपालिका र लुम्बिनी विकास कोषले वेवास्ता गर्न नहुने उनको भनाइ छ । विश्वका बौद्ध धर्मावलम्बीहरुको तीर्थ स्थलको रुपमा रहेको रामग्राम स्तूप परिसरमा भइरहेको मदिरा विक्रीवितरण कार्यलाई तत्काल रोक्न समेत नागरिक समाजले माग गरेको छ । 

रामग्राम–७ देउरवाका एक स्थानीयले स्तूप नजिकै दुईवटा टहरा बनाएर मदिरासहितको व्यापार गरिरहेका छन् । यही भदौ महिनाको रक्षाबन्धनबाट व्यापार सुरु गरेका उनले चटपट, चाउमिन, बियर र घरपाला मदिरा विक्री गर्दै आएको बताए । टहरा बनाएको जग्गा आफ्नो नम्बरी जग्गा भएको र लालपूर्जा पनि रहेको उनको दावी छ ।

यता लुम्बिनी विकास कोषले भने स्तूप क्षेत्रमा कुनै संरचना बनाउन र मदिराको व्यापार गर्न नपाइने भन्दै तत्काल हटाउने बताएको छ । कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले तत्कालै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेर अवैध संरचना हटाउन र मदिराको व्यापार रोक्न लगाउने प्रतिक्रिया दिए ।