
मंगलवार , भाद्र २५, २०८१
भैरहवा, २५ भदौ ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष कार्यालयमा उपस्थिति नहुँदा सेवाग्राही मर्कामा परेका छन् । वडाअध्यक्ष विष्णु नारायण पाण्डेय कार्यालयमा नआउँदा नागरिकताको सिफारिस, चारकिल्ला, जन्मदर्ता प्रमाणित लगायत विभिन्न सिफारिस लिन आउने विभिन्न सेवाहरू प्रभावित भएको स्थानीयले गुनासो गरेका छन् ।
भारतमा रोजगारीको लागि जान लागेका कोटहीमाई–३ का १९ वर्षिय धर्मेन्द्र यादव नागरिकताको सिफारिसका लागि विगत १ हप्तादेखि कार्यालय धाइरहेका छन् । तर, वडाअध्यक्ष पाण्डेयको अनुपस्थितिका कारण उनले सो सिफारिस पाउन सकेका छैनन् । ‘म रोजगारीका लागि भारत जाँदैछु । तर, त्यहाँ काम गर्नका लागि नागरिकताको प्रमाणपत्र वा अन्य सरकारी कागजात आवश्यक छ । तर, बिना नागरिकता कुनै सरकारी प्रमाण पाँइदैन’ उनले भने,‘ एक हप्तादेखि वडा कार्यालय गइरहेको छु । वडाध्यक्षज्यू नआएको भन्दै कर्मचारीले फर्काउने गरेका छन्।’
अर्का सेवाग्राहीले विमला देवी जग्गा विक्रीको लागि सिफारिस लिन विगत ४ दिनदेखि वडा कार्यालय धाइरहेकी छन् । कर्जा चुक्ता गर्नका लागि आफ्नो जग्गा विक्री गर्न लागेको उनले जानकारी दिइन् । तर, वडाअध्यक्ष कार्यालयमा नआउँदा उनले सेवा पाउन सकेकी छैनन् ।
यस्ता विभिन्न सेवा लिन आउने सेवाग्राहीहरुले सास्ती खेप्नुपरेको छ । वडाअध्यक्ष आफू उपस्थित नभएको बेला कसैलाई कार्यबाहक वडाअध्यक्षको जिम्मेवारी नदिएको वडा सचिव रामनाथ यादवले बताए । उनले भने, ‘मैले दिनुपर्ने पन्जीकरण तथा सामाजिक सुरक्षा सम्बन्धि सेवा प्रदान गरेको छु । वडाअध्यक्ष नआउँदा उहाँले दिनुपर्ने सेवा प्रभावित भएको छ । उहाँ अहिले भारतमा हुनुहुन्छ ।’ किशोरीलाई जबरजस्ती करणीको अभियोगमा वडाअध्यक्षको छोरा पक्राउ परेदेखि उहाँ वडा कार्यालयमा नआएको वडा सचिव यादवले बताए । छोराले गरेको गल्तीले उहाँ नआएको हुन सक्ने अनुमान गरिएको सचिव यादवले बताए ।
कुनै घटनाले कुनै कार्यालयको सेवा प्रभावित नगर्न युथ भिजन क्लब कोटहीमाई–३ का अध्यक्ष हेमन्त यादवले आग्रह गरे । उनले भने, ‘जबरजस्ती गरेको अभियोगमा वडाअध्यक्षका छोरा पक्राउ परेका छन् । तर, यसमा वडाअध्यक्षको के गल्ती ? तसर्थ, उहाँले वडा कार्यालयमा आएर वडाबासीलाई सेवा दिनुपर्छ ।’ वडाअध्यक्ष उपस्थित हुन नसके कुनै वडा सदस्यलाई कार्यबाहक वडाअध्यक्षको जिम्मेवारी नदिए वडाबासीले वडा कार्यालयमा तालाबन्दी गर्ने उनले चेतावनी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij