
मंगलवार , भाद्र २५, २०८१
बुटवल, २५ भदौ ।
विभिन्न क्षेत्रका व्यक्तिहरुले रोटरीले समाज रुपान्तरणको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । रोटरी क्लब अफ बुटवल चौतारीको छैठौं चार्टड नाईट समारोहमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । समाज रुपान्तरणका लागि रोटरीयनहरुको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुले सामाजिक विकासमा अझ बढी योगदान दिन आग्रह गरे ।
कार्यक्रममा बोल्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटानका पूर्व डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले रोटरीले समाजमा साँच्चिकै प्रभाव पार्ने गरी काम गरिरहेको भन्दै सबै क्षेत्रबाट यसको सकारात्मक सन्देश प्रवाह भएको बताए । उनले देशभर रहेका रोटरी क्लबहरुले शिक्षा, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा गरेको लगानी र विकासका कामबाट सिंगो समुदायमा सकारात्मक प्रभाव परेको भन्दै रोटरीतर्फ नयाँ पुस्तालाई समेत आकर्षित गर्दै अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिए ।
शितगंगा नगरपालिका अर्घाखाँचीका प्रमुख छविलाल पौडेलले रोटरी क्लब अफ बुटवल चौतारीले शितगंगाको ६ नम्बर वडालाई एम्बुलेन्स प्रदान गर्ने निर्णय गरेकोमा धन्यवाद दिंदै आफ्नो पालिकाले रोटरीसँग सधै सहकार्यको हात बढाउन चाहेको बताए ।
त्यसअवसरमा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश उपाध्यक्ष झबिन्द्र प्रसाद कंडेल, रोटरी क्लब अफ बुटवल चौतारीका मानार्थ सदस्य ताराचन्द केडिया, रोट्रयाक्टका डिआरआर विक्रम क्षेत्री, रोटरी क्लब अफ बुटवल चौतारीका सल्लाहकार राजेन्द्र ढकाल, संस्थापक क्लबहरुको तर्फबाट डा. आरसी आचार्य, रोटरी बुटवल चौतारीका संस्थापक अध्यक्ष डा. विष्णु घिमिरे लगायतले रोटरीयनहरुको अझै बढी योगदान देश र समाजले खोजिरहेको बताए ।
त्यस्तै रोटरी क्लब अफ बुटवल चौतारीका अध्यक्ष नुमलाल पौडेल (नुमेन्द्र) ले क्लबले यो वर्ष सुरु गरेका र आगामी कार्यक्रमका बारेमा जानकारी गराएका थिए । उनले एम्बुलेन्स हस्तान्तरण गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिंदै आफ्नो कार्यकालमा संस्थाको भवन निर्माण गरी व्यावसायिक तालिम सञ्चालन गर्ने, म्याराथुन गर्नेलगायतका योजनाहरु सुनाए । कार्यक्रममा सम्पूर्ण क्लबहरुका संस्थापक अध्यक्षहरुलाई सम्मान गरिएको थियो । अन्य क्लबका संस्थापक अध्यक्षहरुलाई सम्मानको सुरुवात गरेको यो पहिलोपल्ट हो । कार्यक्रममा कार्यक्रम संयोजक केशव भुसाल क्लबका सचिव खगेन्द्र बेलबासे लगायतले पनि धारणा राखेका थिए ।
त्यसअवसरमा २ लाख ५० हजार १११ रुपैयाँ राशीको तीर्थमान–नानीशोभा शाक्य अक्षयकोष, १ लाख ४० हजार १११ रुपैयाँ राशीको स्वर्गीय रोटरीयन प्रितम मित्तल मित्तल अक्षयकोष, ५१ हजार १११ रुपैयाँ राशीको स्वर्गीय ठाकुरप्रसाद भुसाल अक्षयकोष ५१ हजार १११ रुपैयाँकै स्वर्गीय चुन्नप्रसाद न्यौपाने अक्षयकोष घोषणा गरिएको थियो । कार्यक्रममा इन्ट्रयाक्ट र रोट्रयाक्ट क्लबका पदाधिकारी तथा सदस्यहरु पनि सहभागी थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij