
बिहिवार , भाद्र २७, २०८१
बुटवल, २७ भदौ ।
नेपाल इन्जिनियर्स एशोसिएसनको ३४ औं निर्वाचनका लागि उम्मेदवारहरु जिल्ला जिल्लामा मत माग्न व्यस्त छन् । केन्द्र र प्रदेशमा हुने निर्वाचनका लागि इन्जिनियरहरुको दौडधुप बाक्लिएको छ ।
यसैक्रममा लुम्बिनी प्रदेशमा हुने निर्वाचनका लागि प्रगतिशिल र लोकतान्त्रिक प्यानलका उम्मेदवारले चुनाव प्रचारलाई तीव्र पारेका छन् । केन्द्रमा नेपाली काँग्रेस र नेकपा (एमाले) बीच सत्ता गठबन्धन भए पनि यो चुनावमा भने काँग्रेस–एमाले अलगअलग मैदानमा उत्रिएका छन् ।
यस्ता छन् प्रगतिशिल उम्मेदवारका एजेण्डा
नेपाल इन्जिनियर्स एशोसिएसनको लुम्बिनी प्रदेश अध्यक्षका लागि प्रोग्रेशिभ इन्जिनियर एशोसिएसन (पिन) का तर्फबाट जयलाल मरासिनीले उम्मेदवारी दिएका छन् । उनी अवकाशप्राप्त इन्जिनियर हुन् । चुनाव जितेपछि संस्थालाई प्रयाप्त समय दिन आफ्ना लागि सहज हुने उनको भनाइ छ । सरकारले दुई दिन अगाडि मात्रै सरकारी कार्यालयमा शेयर कारोबार बन्द गर्ने गरी टिसिएन प्रणालीमा प्रतिबन्ध लगाएको छ भने खाजा समय आधा घण्टामा सीमित गरेको छ । कर्मचारीका लागि सरकारले यस्तो बाध्यकारी व्यवस्था गरे पनि आफू अवकाश प्राप्त कर्मचारी भएकाले पुरै समय संस्थाको लागि उपलब्ध गराउन बाधा नपर्ने मरासिनीको तर्क छ ।
पिनले केही समयअघि प्रदेश निजामती विधेयकमा इन्जिनियरहरुका माग सम्बोधन गर्न विधायन समितिमा पत्र समेत बुझाएको थियो । निजामति ऐनमा संशोधनका लागि पिनले बुझाएको पत्रमा इन्जिनियरहरुको तह मिलान गर्नुपर्ने उल्लेख छ । हालको विधेयकमा स्थानीय सेवाको छैठौं तह नियुक्त भइ कार्यरत कर्मचारीलाई ऐन प्रारम्भ भएको मितिले तीन महिनाभित्र सातौं तहमा मिलान गरिने र यसरी तह मिलान भएका पदको जेष्ठता गणना छैठौं तहमा पद बहाल भएको मितिदेखि गरिने उल्लेख छ ।
तर, पिनले बुझाएको पत्रमा स्थानीय सेवाको छैठौं तहमा नियुक्त भइ कार्यरत कर्मचारीलाई यो ऐन प्रारम्भ भएको मितिले तीन महिनाभित्र सातौं तहमा मिलान गरिनेछ र यसरी तह मिलान भएका पदको जेष्ठताको गणना छैठौं तहमा पद बहाल भएको मितिदेखि लागू हुनुपर्ने उल्लेख छ । समान तहका उही प्रक्रियाबाट आएका कर्मचारीमा विभेद गर्न नहुने पिनको तर्क छ । उसले यसलाई पनि चुनावी मुद्दा बनाएको छ । प्रदेश सभामा पेश भएको विधेयकमा यो मुद्दा सम्बोधन भएको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले जानकारी दिए ।
त्यस्तै पिनले इन्जिनियरहरुको विदेश पलायन रोक्न रोजगारीका अवसर सिर्जना गर्ने, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सिनियर इन्जिनियरहरुलाई बनाउन पहल गर्ने, इन्जिनियर÷आर्किटेक्ट÷आईटी सेक्टरको पेशा र व्यवसायलाई थप सुरक्षित र मर्यादित पेशाका रुपमा स्थापित गर्न जोड दिने, आगामी एनइए चुनावमा प्रत्येक मतदाताले फिङ्गर प्रिन्टसहितको ई–भोटिङको लागि केन्द्रीय कार्यालयमा दबाब दिने इन्जिनियर र आर्किटेक्ट विद्यार्थीलाई कलेज पास भएर रिजल्ट आउनुपूर्व खाली समयमा एनइएबाट बुटवल, दाङ र नेपालगंजमा व्यवहारिक ज्ञानका कक्षा चलाउने एजेण्डा पनि अगाडि सारेको छ ।
इन्जिनियरलाई सरकारले तोकेको भन्दा कम रकममा काममा लगाउन नपाइने, प्राविधिक धारका शिक्षकहरुलाई छिट्टै स्थायी प्रक्रियाको लागि सरकारलाई दबाब दिने पनि पिनका चुनावी मुद्दा छन् । पिनका तर्फबाट उम्मेदवार बनेका मरासिनीले अधिकांश इन्जिनियरहरुबाट सकारात्मक प्रतिक्रिया आएकाले आफ्नो जीत निश्चित रहेको दावी गरे । ‘हामीले सबै इन्जिनियरहरुका सामूहिक एजेण्डा अगाडि सारेका छौं र चुनाव जितेपछि कार्यालयमै बसेर इन्जिनियरहरुकै पक्षमा काम अगाडि बढाउने छौं’–उनले भने ।
उपाध्यक्षमा उम्मेदवारी दिएकी आर्किटेक्ट इन्जिनियर प्रभा पाण्डेले यसपटक पिनका उम्मेदवारको जीत निश्चित रहेको दावी गरिन् । ‘सबैतिरको माहौल हेर्दा पिनका उम्मेदवारको जीत निश्चित देखिएको छ, इन्जिनियहरुको पक्षमा राम्रा एजेण्डा अगाडि सारेकाले हामीले चुनाव जित्छौं”–उनले भनिन् ।
सडक डिभिजन कार्यालय पाल्पाकी इन्जिनियर निशा बेलबासेले यसपपटक पिनले एनइएको चुनाव जित्ने दावी गरिन् । ‘निजामती सेवामा विभेदकारी नीति अपनाइएको छ, महिला सहभागीता १० प्रतिशतमा सीमित छ । र त्यसमा पनि असमानता छ, निजामती सेवा प्रतिष्ठित जागिर भए पनि इन्जिनियरलाई हेर्ने दृष्टिकोण नकारात्मक छ, यी सबै विभेद हटाउनका लागि पनि हामीले चुनाव जितेर एनइएलाई बलियो गराउन चाहन्छौंं’–प्रदेश सदस्यकी उम्मेदवार रहेकी बेलबासेले भनिन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij