२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

व्यवसायीकरण र यान्त्रिकरणबाट कृषिमा परिवर्तन : मुख्यमन्त्री आचार्य

शुक्रवार , भाद्र २८, २०८१

दाङ, २८ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको विकासको लागि व्यवसायीकरण र यान्त्रिकरण जरुरी रहेको बताएका छन् । विपी चिन्तन प्रतिष्ठान लुम्बिनी प्रदेशले दाङको लमहीस्थित पृथु टेक्निकल कलेजमा शुक्रवार आयोजना गरेको नेपालमा कृषि क्रान्ति, सम्भावना र चुनौती विषयक विचार गोष्ठीमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले व्यवसायिक कृषिका लागि कार्यक्रमहरु अघि बढाए पनि युवा पुस्ता आकर्षित हुन नसक्नु समस्याको रुपमा रहेको चित्रण गरे । 

यसका लागि राजनीतिक दलहरुले अब स्वदेशमा नै अवसरहरुको सृजना गर्ने गरी नीतिगत भूमिका बढाउनुपर्ने उनले धारणा राखे । ‘यहाँ उठेका विषयहरुमा प्रदेश सरकारले काम गरेको छ । तर, युवाहरुले चासो नदिदा प्रभावकारी हुन सकेन’उनले भने–‘मुलुकको विकासको लागि दुई ठूला राजनीतिक दलहरुबीचको सहकार्यले राजनीतिक स्थायीत्व दिन्छ । यसबाट युवालाई कृषिमा आकर्षित गर्न सकिन्छ ।’ 

उनले प्रदेश सरकारले कृषि क्षेत्रको विकास गर्न नव प्रवर्तनका योजनाहरु अघि बढाएको जानकारी दिए । कृषिलाई उद्यम र उद्योगको रुपमा विकास गर्न नव प्रवर्तन कार्यक्रमहरु अघि बढाएको उनले जानकारी दिए । उनले लुम्बिनी प्रदेश कृषि उत्पादनको दृष्टिकोणले प्रचुर सम्भावना रहेको बताउँदै उनले तीनवटा भूगोललाई जोडेर अघि बढ्ने योजना सुनाए । विचार गोष्ठीमा कृषिमा औद्योगीकरण, व्यवसायीकरण र युवाहरुको संलग्नता बढाएर उत्पादन र उत्पादकत्व बढाउन सकिनेमा जोड दिए ।

त्यस्तै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले अब राजनीतिक दलहरुले युवालाई स्वदेशमा उद्यम गर्न प्रेरित गर्नुपर्ने र सोहीअनुसार कार्यक्रम निर्माण गर्ने बताए । 
मुक्तिनाथ कृषि कम्पनी लि. लुम्बिनी प्रदेशका प्रमुख निर्मल भुसालले कृषिलाई वैज्ञानिक र साँस्कृतिक रुपमा बुझ्नुपर्ने बताए । सरकारले नीतिनियम बनाए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको, सहकारीले बचत तथा ऋण परिचालनमा मात्रै ध्यान दिदा कृषि क्षेत्र फस्टाउन नसकेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । ‘कृषिमा उत्पादन शैली परिवर्तन गर्न नसक्दा बजारमा माग एकथरी छ, उत्पादन अर्काे थरि भएको छ’उनले भने–‘बजार अनुसार उत्पादन बढाउन जरुरी छ ।’

कृषि क्षेत्रमा लगानी अनुसार पूर्वाधार विकासमा ध्यान दिनुपर्ने, तीन तहका सरकारले कृषिलाई प्राथमिकता दिनुपर्नेर भू-उपयोग नीति निर्माण गरेर जग्गाको चक्लाबन्दी, कृषि पर्यटनको सम्भावनाको विकास गर्न अग्रसर हुनुपर्ने उनले बताए । बजार र मागबीचको असन्तुलन हटाउन सरकारले योजना निर्माण गरेर कार्यान्वयन गर्नुपर्ने उनले बताए । ‘स्थानीय सम्भावना प्रचुर छ । कृषिमा युवा आकर्षण बढाउन जरुरी छ’उनले भने–‘कृषिमा संस्थागत मूल्य श्रृंखला बढाउनुपर्छ । एकीकृत नीतिको अभाव छ । यसको परिपुर्ति गर्न जरुरी छ ।’ 

कृषिको उत्पादनदेखि बजारीकरणसम्म संस्थागत संरचनाको विकास गर्न सकिने, जसका लागि संघ सरकारले नीतिनियम बनाउने, प्रदेश सरकारले उद्योग स्थापना गर्ने, स्थानीय सरकारले उत्पादन र बजारीकरणमा सहयोग पुर्याउने गरी कार्यक्रम बनाउनुपर्ने उनले सुझाव दिए । 

कृषि स्रोत केन्द्र, कृषि प्रशोधन केन्द्र, कृषि व्यवसाय परामर्श केन्द्र, कृषि बजार केन्द्र स्थापना गरेर कृषिमा आमूल परिवर्तन गर्न सकिनेमा उनको जोड छ । युवा उद्यमशीलाताको विकास गरेर दिगो कृषि चक्रको लागि खाद्य साक्षरता अभियान चलाउनुपर्नेमा ध्यान दिन आग्रह गरिएको छ । 

महेश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अगुवा किसान लगायत बुद्धिजीवीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा विपी चिन्तन प्रतिष्ठानका सहअध्यक्ष पुष्पराज पराजुली, नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष रीता केसी, गोरखा सिड कम्पनीका विउ उत्पादन अधिकृत सागर खनाल, नेपाली काँग्रेसका प्रतिनिधि लिलाराम खनाल लगायतले छलफलमा भाग लिएका थिए ।