२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पार्टी कार्यकर्तालाई मुख्यमन्त्रीले भने–‘योजना खोज्दै हिड्ने होइन, आत्मनिर्भर बन्नुस्’

शुक्रवार , भाद्र २८, २०८१

कपिलवस्तु, २८ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य चेतनारायण आचार्यले प्रदेश सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार उन्मुलन गर्न अघि बढाएको अभियानलाई जनता माझ पुर्‍याउन पार्टी पंक्तिलाइ निर्देशन दिएका छन् ।

एमाले विजयनगर गाउँपालिका कमिटी, कपिलवस्तुको दोस्रो गाउँ कमिटी अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले जनतामा बढ्दै गएको निराशालाई आशामा बदल्न सुशासन कायम गर्न र भ्रष्टाचार निर्मुल गर्न कठोर भएर अघि बढेको बताए । 

‘एकपटक मुख्यमन्त्री भएपछि आजीवन राज्यबाट सेवासुविधा लिने निर्णयलाई उल्टाएका छौं’उनले भने–‘प्रदेश सरकारले गरेको ताकेताबाट एक जनाले गाडी फिर्ता गर्नुभयो, अर्काे गाडी फिर्ता हुने अवस्थामा छ । उहाँले फिर्ता नगरे प्रहरी लगाएर पनि फिर्ता गराउँछौं । ’

योजना कार्यान्वयनको नाममा हुने आर्थिक अपचलनकाविरुद्ध प्रदेश सरकार निर्मम ढंगले अघि बढेको बताए । पाँच लाखभन्दा माथिका योजनालाई प्रतिष्पर्धाको माध्यमबाट कार्यान्वयन गर्ने गरी सरकार अघि बढेको उनले स्पष्ट पारे । ‘यो वर्ष लगेका फाइल पढ्नबाहेक, बजेट हाल्न सक्दिन । प्रदेश सरकारले असार १ गते बजेट ल्याउँछ । यस वर्षको बजेट आइसकेको छ’उनले भने–‘छुटेका योजनालाई अर्काे वर्ष समेट्छौं । परेको बजेटलाई सही ढंगले सदुपयोग गरे विकासले फड्को मार्छ । ’ खेती गर्ने, पशु पाल्ने कामलाई पार्टीका नेताहरुले अंगालेर उदाहरण दिन उनले आह्वान गरे । 

हरेक नागरिक आत्मनिर्भर नहुँदासम्म मुलुक बन्न नसक्ने भन्दै व्यवसायमा जोडिन आह्वान गरे । ‘कृषि गर्ने पेशा कमजोर हो भन्ने चिन्तनले अहिले समस्या निम्त्यायो । छोराछोरीलाई घाँस काट्ने, मल फाल्ने, गाईभैंसी पाल्ने कुरा कथा जस्तो लाग्न थाल्यो’उनले भने–‘पुर्खाहरुले गरेका कामलाई निरन्तरता दिने गरी हरेक क्षेत्रलाई प्रविधिसँग जोडेर युवाहरुलाई लैजान सकिन्छ । यता पनि ध्यान दिनुपर्नेछ ।’

एमाले विजयनगर गाउँपालिकाका अध्यक्ष थर्कबहादुर खन्गाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य गिरीधारीलाल न्यौपानेले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश बनाउने अभियानमा जुट्न पार्टी पंक्तिलाई आह्वान गरे ।

अधिवेशन उद्घाटन कार्यक्रमलाई एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, पूर्व जिल्ला अध्यक्ष झविलाल पोख्रेल, डम्बर शर्मा लगायतले सम्बोधन गरेका थिए । अधिवेशन उद्घाटन कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकाहरुलाई मुख्यमन्त्री आचार्यले स्वागत समेत गरेका थिए ।