
शुक्रवार , भाद्र २८, २०८१
बुटवल, २८ भदौ ।
६० औं राष्ट्रिय बाल दिवसको पूर्व सन्ध्यामा शुक्रबार रुपन्देहीको बुटवलमा बाल हिंसाविरुद्ध बालिकाहरुले जनप्रतिनिधि, प्रहरी र सामाजिक अभियन्ताहरुसँग अन्तरक्रिया गरेका छन् ।
बुटवल–११ स्थित सञ्जिवनी सिर्जनशिल बाल क्लब र सञ्जिवनी टोल विकास समितिले बाल हिंसाविरुद्ध सचेतना अभियान अन्तर्गत बाल हिंसाविरुद्ध मेरो दायित्व विषयक अन्तरक्रिया कार्यक्रम गरेको हो ।
बुटवलका विभिन्न विद्यालयका विद्यार्थीहरुले बाल अधिकार, बाल हिंसा लगायतका विषयमा जनप्रतिनिधि, प्रहरी र सामाजिक अभियन्ताहरुसँग प्रश्नोत्तरसहित अन्तरक्रिया गरेका छन् ।
कार्यक्रममा बालबालिकाहरुले स्थानीय बालमैत्री शासन, विद्यालयमा बालबालिकाबीच नै भिन्नता हुने, प्रहरीले विद्यालय क्षेत्रमा धुम्रपान, मद्यपान जस्ता पसलहरु हटाउन नसकेको, पारिवारिक कारणले बालबालिकाहरु पढन नपाएर लागूऔषधमा फसेको जस्ता समस्या राख्दै समाधानका लागि सरोकारवालाहरुको ध्यानार्कषण गराए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बालबालिकाहरुले उठाएको सवालमा गम्भिर रहेको बताउँदै बुटवलभित्र बाल हिंसा हुन नदिने प्रतिवद्धता व्यक्त गरिन् । उनले बालबालिकाहरुको मनोभावना अनुसार काम गर्न तयार रहेको बताउँदै उपमहानगरपालिकामा आएर सुझाव र छलफलका लागि समेत आमन्त्रण गरिन् ।
त्यस्तै कार्यक्रममा सामाजिक अभियन्ता सरिता श्रीसले बालबालिकाहरुले जनप्रतिनिधि, प्रहरी प्रशासनका अगाडि निर्धक्कसँग प्रश्न राख्नु आफैमा परिवर्तन भएको बताइन् । उनले बालक र बालिकामध्ये बालिकाहरु हिंसाको शिकार हुने सम्भावना बढी हुने भएकाले सुरक्षाका लागि समाजका सबै निकायहरु जिम्मेवार हुनुपर्नेमा जोड दिइन् ।
त्यसै गरी वडा प्रहरी कार्यालय रामनगर बुटवलका प्रमुख प्रहरी निरीक्षक बिष्णु बहादुर बस्नेतले बालबालिकाहरुले उठाएको सवालहरु निकै महत्वपूर्ण र संवेदनशील रहेकाले यसप्रति आफूहरुको ध्यान जाने बताए । उनले आफू बुटवल आएको धेरै दिन नभएको बताउँदै बालबालिकाहरुसँग साक्षात्कार गरी बुटवलका समस्याका बारेमा समेत अवगत हुने मौका पाएको बताए ।
अन्तरक्रियामा अधिवक्ता दीपना सुनार, सामाजिक मनोपरापर्शकर्ता कमला गहतराज, संजिवनी टोल विकास समितिका अध्यक्ष हरि गहतराज, सञ्चारकर्मी एलिना आचार्य, संजिवनी सिर्जनशिल बाल क्लबका अध्यक्ष विधांसु सेन, कोषाध्यक्ष संस्कृति पाण्डेय लगायतले बोल्दै बालबालिकाहरुको सवालमा सबैलाई जिम्मेवार बनाउन कार्यक्रमले महत्वपूर्ण योगदान दिएको बताए ।
उक्त अवसरमा बाल हिंसाविरुद्ध सचेतना अभियान-२०८१ को लोगो तथा सचेतनामूलक पर्चाको समेत बिमोचन गरिएको छ । टोल विकास समितिसँग मिलेर बाल क्लबले बाल हिंसाविरुद्ध म पनि भन्ने अभियानसहित प्रचारात्मक कार्यक्रम गरेको क्लबका संस्थापक सल्लाहकार गणेश थापाले बताए । उनले टोल विकास समितिसहित समाजका विभिन्न संस्थाहरुलाई जोडिएको बताए ।
‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ शनिबार (भोलि) ६० औं राष्ट्रिय बाल दिवस मनाईँदैछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij