
शनिवार , भाद्र २९, २०८१
भैरहवा, २९ भदौ ।
लायन्स क्लब अफ सिद्धार्थनगरले निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । क्लबले शुक्रबार रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ७ स्थित बैरिहवामा शिविर सञ्चालन गरेको हो ।
शिविरमा निःशुल्क आँखा परीक्षण, चश्मा, औषधी वितरण तथा मधुमेह (सुगर) जाँच गरिएको क्लबको वर्ष २०२४/०२५ का अध्यक्ष अर्जुन पौडेलले बताए । शिविरमा १८० जनाको आँखा परीक्षण गरिएको र जसमध्ये १५० जनालाई चश्मा वितरण गरिएको पौडेलले जानकारी दिए । ‘ग्रामीण क्षेत्रमा पुगेर गरीब तथा विपन्न बिरामीलाई घरदैलौमै सेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरेको हौं, शिविरबाट १८० जना लाभान्वित भएका छन्, ’उनले भने । उनले मायादेवी गाउँपालिका वडा नम्बर ७ स्थित बैरहिवाका नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै एकदिने शिविर सञ्चालन गरिएको बताए ।
लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर र सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. भैरहवाको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको कार्यक्रम संयोजक तथा लायन्स क्लब अफ सिद्धार्थनगरका कोषाध्यक्ष रघु प्रसाद खनालले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले लायन्सले आँखाको क्षेत्रमा काम गर्दै आएको बताए । उनले लायन्स सिद्धार्थनगरले नागरिकको घरदैलोमा पुगेर सेवा प्रदान गर्नु सराहनीय रहेको बताए । ‘आँखा शरीरको महत्वपूर्ण अंग हो, आँखाले संसार देखाउँछ, त्यसैल यो शिविर आफैमा महत्वपूर्ण छ, उनले भने ।’
लायन्स क्लब अफ सिद्धार्थनगरका तृतीय उपाध्यक्ष कुलचन्द्र गौतमको सञ्चालनमा भएको कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का फस्ट भाइस डिष्ट्रिक गभर्नर बालाराम भट्टराई, मायादेवी गाउँपालिका–७ का वडाअध्यक्ष शैलेन्द्र कुमार पाण्डेय लगायतले भनाइ राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij