
शनिवार , भाद्र २९, २०८१
कपिलवस्तु, २९ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जाडो र सुख्खा मौसममा हुने दुधको माग तथा आपूर्तिको असन्तुलनलाई सम्बोधन गर्न प्रदेश सरकारले नीतिगत सुधार गर्ने बताएका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ मा रहेको ग्लोबल डेरी प्रा.लि.को अवलोकन गर्ने क्रममा मुख्यमन्त्री आचार्यले किसानसँग प्रत्यक्ष जोडिएको डेरी क्षेत्रलाई व्यवसायीकरण गरेर उद्योगको रुपमा विकास गर्न प्रदेश सरकारले साथ दिने बताएका हुन् ।
‘यहाँ रहेको डेरी प्लान्टबारे मलाई जानकारी छ । योसँग लुम्बिनी प्रदेशका किसान मात्रै होइन अन्य प्रदेश र जिल्लाका किसान पनि जोडिनु भएको छ । किसानले उत्पादन गरेको दुधको खरिद, विक्री प्रणालीलाई सहज बनाउन प्रदेश सरकारले पनि साथ दिन्छ’उनले भने–‘भविष्यमा डेरी क्षेत्रबाट किसानको आम्दानी बढाउन र प्रत्यक्ष रोजगारीको अवसर सृजना गर्न सकिने थुप्रै आधार छन् ।’
लुम्बिनी प्रदेशमा पाउडर प्लान्ट छैन् । जसले गर्दा किसानहरुले उत्पादन गरेको दुधको बजारीकरणमा समस्या पर्दै आएको छ । जाडो मौसममा दुध विक्री नभएर किसानहरु मिल्क होलीडेको मारमा पर्ने गरेका छन् । पाउडर प्लान्ट स्थापना गरेर दुधको बजारीकरणमा सहयोग गर्ने बारेमा प्रदेश सरकारले नीतिगत सुधार गर्ने मुख्यमन्त्री आचार्यले प्रतिवद्धता व्यक्त गरे।
त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपानेले दुध उत्पादनमा लुम्बिनी प्रदेश आत्मनिर्भर भए पनि किसानले उत्पादन गरेको सबै दुध बजार सम्म पुग्न नसक्दा समस्या भएको बताए । प्रदेश सरकारले दुधको बजारीकरणका लागी नीजि क्षेत्रसँग सहकार्य गर्दा सहज हुने सुझाव दिए । ‘यहाँको उत्पादन देशभित्र मात्र होइन, देश बाहिर पनि विक्रीवितरण भइरहेको छ’उनले भने,‘यो उद्योगले लुम्बिनी प्रदेशलाई दुधको बजारीकरणमा ठूलो योगदान पुर्याएको छ ।’
ग्लोबल डेरीले किसानहरुले उत्पादन गरेको दुध खरिद गरेवापत नियमित भुक्तानी दिदै आएको, कृषि बीमासँग जोडेको, चोकर, दाना तथा घाँस खेतीका लागि सहयोग गर्दैै आएको ग्लोबल डेरी प्रा.लि.का अध्यक्ष थानेश्वर न्यौपानेले बताए । उनले प्रत्यक्ष र सहकारीमार्फत गरी २० हजार किसान प्रत्यक्ष जोडिएको जानकारी दिए । २०७१ सालमा स्थापना भएको उद्योगले दुध, दही, घ्यू, पनिर, छुर्पि, खवा, मोही, बटर र मिठाई उत्पादन गर्दै आएको छ ।
देशका ठूला शहरहरुलाई बजारको रुपमा मानेको उद्योगले काठमाडौंमा समेत उद्योग स्थापना गरेर कारोबार सुरु गर्न थालेको प्रा.लि.का प्रबन्ध निर्देशक जनक न्यौपानले जानकारी दिए। ८१ वटा दुध संकलन र चिस्यान केन्द्र सञ्चालनमा ल्याएको छ । सुदुर पश्चिमको कञ्चनपुर सम्मबाट दूध संकलन गर्दै आएको उद्योगले पुर्व झापामा आफ्ना उत्पादन विक्री वितरणका लागि पुर्याउने गरेको छ ।
देश बाहिर पनि उत्पादन पठाउने बारेमा अध्ययन भइरहेको, त्यसका लागि सरकारलाई सहजीकरण गर्न आग्रह गरिएको छ । गत वर्ष उद्योगले १ करोड १७ लाख लिटर दुध किसानबाट खरिद गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij