२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

संस्कृति, सभ्यतालाई जोगाइराख्न सहकार्य गर्छाैं : मुख्यमन्त्री आचार्य

शनिवार , भाद्र २९, २०८१

  • 685
    Shares
  • 685
    Shares
  • बुटवल, २९ भदौ ।
    लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रज्ञा–प्रतिष्ठान गठनको प्रक्रिया सुरु गरेको छ  । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले लुम्बिनी प्रज्ञा प्रतिष्ठान गठनको प्रक्रिया सुरु गरेको जानकारी दिएका छन् ।

    शनिबार बुटवलमा भएको प्रज्ञा–नारी काव्य सङ्गोष्ठी २०८१ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्य प्रदेश सरकारले प्रज्ञा–प्रतिष्ठान गठनको लागि विधेक तयार पारेर प्रदेश सभामा लगेर कानूनी आधार तयार पारिने बताए । ‘लुम्बिनी प्रदेशको कला, साहित्य, संस्कृतिको संरक्षण गर्न सरकारले प्रदेश प्रज्ञा–प्रतिष्ठान गठन गर्छ । यसबाट प्रदेशको कला, साहित्य, संस्कृतिको विकासमा योजना बनाएर काम अघि बढ्छन्’मुख्यमन्त्री आचार्यले भने–कला, साहित्य, संस्कृतिको जगेर्ना गरेर समाज विकास र रुपान्तरणको अभियानमा अघि बढ्न सकिन्छ ।’ 

    साहित्य, कला, संस्कृतिको जगेर्ना गर्न नसक्दा समाजले क्षति व्यहोर्नुपर्ने अवस्था रहेको भन्दै यसतर्फ सबैको चिन्ता र चासो हुनुपर्ने उनले धारणा राखे । उनले लुम्बिनी प्रदेश साहित्यको उर्वरभूमि रहेको, धेरै साहित्य अनुरागी, श्र्रष्टाहरुको योग्दानलाइ संरक्षण गर्न खोज अनुसन्धान गरेर प्रतिवेदनहरुको दस्तावेजीकरण गर्न आग्रह गरे । कला, साहित्य, संस्कृतिको संरक्षण, विकास र प्रबर्द्धन गर्न प्रदेश सरकारले सहकार्य गर्ने, सबै साहित्यकारहरुलाई उत्साहित बनाउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य (काव्य÷पद्य) विभाग र लुम्बिनी वाङ्मय प्रतिष्ठानको सहकार्यमा आयोजित लुम्बिनी प्रदेश स्तरीय प्रज्ञा–नारी काव्य सङ्गोष्ठी २०८१ आयोजना गरिएको छ । प्रदेशका १२ जिल्लाका साहित्य अनुरागिहरुको विशेष उपस्थितिमा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख बाबा बस्नेतले साहित्य क्षेत्रको विकासको लागि प्रदेश तहहरुमा प्रज्ञा प्रतिष्ठान निर्माण गरेर जान सकिने, यसतर्फ प्रदेश सरकारले अघि बढाउने योजनामा सहकार्य गर्ने बताए ।

    त्यस्तै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले समाज रुपान्तरण र जागरणका लागि साहित्य क्षेत्रको ठूलो योगदान रहेको चर्चा गरे । लुम्बिनी वाङ्मय प्रतिष्ठान लुम्बिनीका उपाध्यक्ष सृजना ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष ऋषि आजादले संस्कृति र सभ्यताको बाहक साहित्य क्षेत्र भएको बताए । कार्यक्रममा भगवती पाण्डे अर्यालले कार्यपत्र प्रस्तुत गर्दै १२ जिल्लाको अवस्थाको चित्रण गरेकी थिइन् ।