
शनिवार , भाद्र २९, २०८१
बुटवल, २९ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारीसँगै निजी क्षेत्रबाट सञ्चालन भएका अस्पताल तथा स्वास्थ्य संस्थाको उपचार सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले ध्यान दिने बताएका छन् । नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीको आयोजनामा शनिबार बुटवलमा भएको सम्मान एवं औषधी व्यवसायीहरुको क्षमता अभिवृद्धि तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारी अस्पतालको सेवासुविधालाई सुधार गर्दै निजी क्षेत्रका अस्पताललाई समेत कानूनी दायराभित्र ल्याएर सेवा प्रवाहलाई चुस्त बनाउने बताए ।
उनले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर विशेषज्ञ उपचार सेवा सञ्चालन गरेको जानकारी दिए ।
बुटवललाई स्वास्थ्य हब बनाउन, आर्थिक रुपमा समृद्ध बनाउन लुम्बिनी प्रादेशिक अस्पतालले नयाँ आयाम थप्ने उनले विश्वास व्यक्त गरे । ‘१२ सय अस्पतालले पूर्णता पाएपछि औषधी व्यवसाय फस्टाउने छ । आर्थिक कारोबार बढ्ने छ । बुटवल आर्थिक हब बन्छ । उनले भने–‘प्रादेशिक अस्पतालको भवन निर्माण चालू आर्थिक वर्ष रु.१ अर्ब ८० करोड बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले सबै हिसाबले उच्च प्राथमिकतामा राखेको छ ।’
मुख्यमन्त्री आचार्यले हरेक व्यवसायलाई पारदर्शी बनाउन जरुरी रहेको धारणा राखे । औषधी व्यवसायको नाममा हुने लागूऔषधको कारोबार र औषधी विभागले स्वीकृति नदिएका औषधीको विक्रीवितरणमा कडाइ गरिने उनले बताए । ‘व्यवसायीकतालाई ख्याल गरेर अघि बढ्नुस् । मानिसको जीवनको संवेदनशील क्षेत्र स्वास्थ्य क्षेत्र हो । उनले भने–‘स्वास्थ्य क्षेत्रमा यहाँहरुले पुर्याएको योगदानको सम्मान गर्न चाहन्छु । उपचारको लागि सेवा गर्नुभएको छ । अप्ठ्यारो अवस्थामा पनि औषधीको अभाव हुन दिनुभएन ।’ गुणयुक्त, असरयुक्त, जनसुरक्षित, औषधीको आपूर्ति, हाम्रो प्रतिवद्धता भन्ने मुख्य नारासहित औषधी व्यवसायीको क्षमता अभिवृद्धि गर्न थालिएको छ ।
औषधी व्यवसायी संघका अध्यक्ष खड्गप्रसाद बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक तथा निवर्तमान अध्यक्ष सुरज भट्टराईले विषय प्रवेश गराउँदै सरकारीस्तरबाट खाद्यान्न, औषधी र कस्मेटिक ल्याब स्थापना गर्न उनले माग राखे । त्यस्तै उनले बुटवल, दाङ र रुपन्देहीमा औषधीजन्य फोहर व्यवस्थापन केन्द्र स्थापना गर्न जरुरी रहेको धारणा राखे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij