२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

पानीको गुणस्तर परीक्षण गरेर उपभोक्तालाई खुवाउने ग्यारेण्टी गर्छौं : मुख्यमन्त्री आचार्य

शनिवार , भाद्र २९, २०८१

  • 550
    Shares
  • 550
    Shares
  • बुटवल, २९ भदौ ।
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकलाई स्वच्छ र सफा खानेपानी उपलब्ध गराइ जनस्वास्थ्यमा सुधार ल्याउन सरकारले योजना निर्माण गरेको बताएका छन् । गुणस्तरीय खानेपानी वितरणलाई सुनिश्चित गर्न प्रदेश स्तरीय पानी परीक्षण ल्याब स्थापना गर्न थालिएको उनले बताएका हुन् ।

    रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ योगीकुटीमा रहेको शंकरनगर खानेपानी उपभोक्ता तथा सरस्फाई संस्थाको रजत जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘एक घर–एक धारा’ को अभियानलाई पूरा गर्दै कार्यान्वयन चरणमा रहेका खानेपानी आयोजनालाई सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी दिए । ‘प्रदेश सरकारले आफ्नै खानेपानी ल्याब स्थापना गर्दैछ । कपिलवस्तुमा ल्याब खोल्दैछौं । खानेपानीको गुणस्तर परीक्षण गरेर पानी खुवाउनुपर्छ भनेर ल्याब स्थापना गर्दैछौं’उनले भने–‘चालू वर्षमा १६८ खानेपानी आयोजना सम्पन्न गर्ने र जसबाट ७ लाख ४ हजार लाभान्वित हुने लक्ष्य राखेका छौं ।’

    योजनाबद्ध विकास प्रदेश सरकारको पहिलो आधार भएको बताउदै समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी बनाउने अभियान पूरा गर्ने दिशामा सरकार रहेको उनले बताए ।
    ‘प्रदेश सरकारले हरेक नागरिक स्वस्थ हुनुपर्छ भन्ने मान्यताका साथ कार्यक्रमहरू गरिरहेका छौं’उनले भने–‘योजनाबद्ध विकासका माध्यमबाट लुम्बिनी प्रदेशमा खानेपानी, कृषि, पर्यटन र उद्योग क्षेत्रमा सुधार गरेर विकास र समृद्धिको अभियान सफल बनाउन सक्छौं ।’

    मुख्यमन्त्री आचार्यले रजत स्मारक, नव निर्मित कार्यालय भवनको उद्घाटन र रजत स्मारिकाको विमोचन गरेका थिए ।

    रजत जयन्ती मनाउँदै गर्दा खानेपानी उपभोक्ता संस्थाले निर्धारित लक्ष्य हासिल गर्न गरेका योगदान अविस्मरणीय र उल्नेखनीय रहेको मुख्यमन्त्री आचार्यले बताए ।
    यो खानेपानी तथा सरसफाई संस्था लुम्बिनी प्रदेशको अग्रणी खानेपानी संस्था हो । उपभोक्ताहरुको अथक मिहिनेत र परिश्रमका कारण यो खानेपानी आयोजना यहाँसम्म आइपुगेको मुख्यमन्त्री आचार्यको भनाइ छ ।

    प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले सबै नागरिकलाई उच्चस्तरीय र गुणस्तरीय खानेपानी पुर्याउने लक्ष्य सरकारले पुरा गर्नुपर्ने बताए ।

    प्रदेश सभा सदस्य भगवती अधिकारीले नागरिकलाई सहज रुपमा गुणस्तरीय पानी पुर्याउने संकल्प प्रदेश सरकारले पूरा गर्नुपर्ने बताए ।

    तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले पानी शान्तिका लागि, पानी समृद्धिका लागि र पानी जीवनको लागि भएको बताए । सुरक्षित खानेपानीका लागि प्रदेश सरकारसँग समन्वय गरिने उनले बताए । कार्यक्रममा प्रज्वल बोहोरा लगायतले सम्बोधन गरेका थिए ।

     

    संस्थाका अध्यक्ष झबिन्द्र भण्डारीले कुलो, कुवा, इनार र खोलाको पानी खानुपर्ने अवस्था अन्त्य गरेर नागरिकलाई गुणस्तरीय खानेपानी पुर्याउन सफल भएको बताए । कार्यक्रमको सहजीकरण संस्थाका सचिव कमला ज्ञवालीले गरेकी थिइन् ।