
शनिवार , भाद्र २९, २०८१
बुटवल, २९ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी विकास कोषमा थन्किएर बसेको विद्युतीय सवारीसाधनलाई छिटो सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यलाई मुख्यमन्त्री आचार्यले विद्युतीय सवारीसाधन नियमित सञ्चालनको वातावरण निर्माण गर्न निर्देशन दिए ।
सवारीसाधन चलाउनमा आइपरेका कानूनी अड्चन फुकाउन प्रदेश सरकारले सहजीकरण गर्ने भएकाले सवारीसाधनलाई कामबिहीन बनाएर नराख्न उनले निर्देशन दिए । ‘कसरी हुन्छ ती सवारीसाधन चलाउनुस् । प्रदेश सरकारले कहाँ र कसरी साथ दिनुपर्छ हामी दिन्छौं’ उनले भने,‘राज्यलाई प्राप्त भएको सम्पत्ति यसरी कामबिहीन बनाएर राख्दा त्यसको सन्देश राम्रो जाँदैन । कानूनी अड्चन फुकाउनुपर्ने भए हामी फुकाउँछौंं ।’
लुम्बिनीमा प्रदूषण कम गर्नका लागि एसियाली विकास बैंकको सहयोगमा ६ वटा बस र १३ वटा भ्यान गरी १९ वटा विद्युतीय सवारीसाधन प्राप्त भएको थियो । हाल ती सवारीसाधन नियमित सञ्चालनमा छैनन् । विदेशी पर्यटकलाई भैरहवा हुँदै बुद्ध जन्मस्थल लुम्बिनी तथा बुद्ध सर्किट क्षेत्रमा पर्ने स्थानहरु देवदह, तिलौराकोट, रामग्राम पुर्याउने उद्देश्य थियो । एसियाली विकास बैंकको अनुदान, भन्सार छुटबाहेक नेपाल सरकारको १३ करोड रुपैयाँ खर्च भएको छ । हाल यी सवारीसाधन लुम्बिनी विकास कोषको नाममा दर्ता भएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij