
आइतवार , भाद्र ३०, २०८१
भैरहवा, ३० भदौ ।
नेपाल कम्यूनिष्ट पार्टी (एमाले) का पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले एमाले भनेको विकासको पर्यायवाची भएको बताएका छन् । उनले एमालेबाटै विकास सम्भव रहेको बताए ।
एमाले सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ कमिटीको दोस्रो अधिवेशनको उद्घाटन गर्दै भट्टराईले राष्ट्र चलाउन नीति, योजना चाहिने र त्यो एमालेसँग भएको बताए । उनले भने, ‘भिजन भएको पार्टी एमाले मात्रै हो । एमाले सरकारमा आउनेबित्तिकै जनतामा आशा जाग्छ । एमाले हुनुमा गर्व छ ।’
राष्ट्रिय सभाका पूर्व सदस्य समेत रहेका नेता भट्टराईले देश र जनताको जिम्मेवारी एमालेले लिनुपर्ने र २०८४ मा निर्णायक पार्टीको रुपमा एमालेलाई स्थापित गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘एमालेको स्पष्ट बहुमत नआएकै कारण देशले दुःख पायो । पार्टीको पक्षमा जनतालाई दृढतापूर्वक उभ्याउनुपर्छ । यो पार्टीविरुद्ध भ्रम पार्नेहरु पनि छन् । ती भ्रमहरुलाई चिर्दै अघि बढ्नुपर्छ ।’
एमाले सरकारमा जाँदा राम्रा कामहरु गरेको उनले दावी गरे । हुलाकी सडक तराईको विकासको मेरुदण्ड हो । ‘सडक पूर्वाधार लगायत विभिन्न विकासमा कामहरु एमालेकै नेतृत्वमा भएका छन्, एमाले विकासका लागि चाहिएको हो, ’उनले भने ।
उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउनुपर्नेमा जोड दिए । उनले ठूलो पूर्वाधार बिना विकास हुन नसक्ने बताए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ३० जना बढी एमालेमा प्रवेश गरेको पार्टीका सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले बताए ।
वडा कमिटी अध्यक्षमा संगम सिंह थापा
वडा अधिवेशनले संगम सिंह थापाको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्षमा संजय वर्मा अधिकारी, सचिवमा अमृत बहादुर अधिकारी, सह–सचिवमा मनिषराज पाण्डे, सविता रसाइली, सदस्यहरुमा चिरञ्जीवी गौतम, सोनी सिंह क्षेत्री, सरस्वती राजभण्डारी, सीता वर्मा अधिकारी र जमुना के.सी. रहेको एमाले जिल्ला सदस्य कृष्ण प्रसाद अधिकारी (सागर)ले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij