२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

संविधान दिवस जनस्तरबाट भव्य रुपमा मनाउन मुख्यमन्त्री आचार्यको आह्वान

आइतवार , भाद्र ३०, २०८१

  • 691
    Shares
  • 691
    Shares
  • दाङ, ३० भदौ ।
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान दिवस–२०८१ जनस्तरबाट भव्य रुपमा मनाउन आह्वान गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा सम्पन्न संविधान तथा राष्ट्रिय दिवस मूल समारोह समितिको आइतबार बसेको बैठकलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले संविधान दिवसलाई नागरिकस्तरबाट भव्य रुपमा मनाउन आह्वान गरेका हुन् ।

    सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पुर्याउन संविधानको कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको सो अवसरमा मुख्यमन्त्री आचार्यले बताए । प्रदेश सरकारले संविधान दिवस–२०८१ लाई भव्य रुपमा मनाउने निर्णय यसअघि गरिसकेको छ । आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म प्रदेशभित्र विभिन्न कार्यक्रम आयोजना गर्न थालिएको हो । 

    असोज २ गते प्रदेशस्थित सबै सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाई गर्ने, स्वास्थ्य मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण जाँच कार्यक्रम सञ्चालन गर्ने, प्रदेश सरकारी निकायका वेभसाईटमा संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपले मनाउने बारेमा सूचनाहरु सार्वजनिक गर्ने, संविधान कार्यान्वयनको पहिलो दशकः उपलब्धी र चुनौती विषय विज्ञसँग छलफल कार्यक्रम सञ्चालन गर्ने, जसको लागि फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टरसँग समन्वय गरिने भएको छ । आम नागरिकलाई तीन दिन आ–आफ्नो घरको छत, वरण्डामा दिपावली गर्न आह्वान गरिएको छ । 

    असोज ३ गते संविधान दिवसको मुल समारोह आयोजना गरिनेछ । विभिन्न साँस्कृतिक झाँकीसहित बिहान प्रभातफेरीको आयोजना गरिने भएको हो । लुम्बिनी प्रदेश राजधानी परिसर क्षेत्र राप्ती उपत्यका देउखुरीमा मुल समारोह आयोजना गरिने र सो कार्यक्रमको प्रत्यक्ष प्रशारण आम सञ्चारका माध्यमबाट गर्न आह्वान गरिएको छ ।  

    त्यस्तै असोज ४ गते उपयुक्त स्थान पहिचान गरेर प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय कार्यालय सम्बद्ध सरोकारवालाहरुको समन्वयमा वृक्षारोपण कार्यक्रम गर्ने जनाइएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा सम्पन्न बैठकमा प्रमुख प्रतिपक्ष दल नेता जोखबहादुर महरा, संसदीय दलका नेता तथा प्रतिनिधि, मन्त्रीहरु, सचेतकसहित मन्त्रालयका सचिव तथा कर्मचारी, गैरसरकारी संस्था महासंघका प्रतिनिधि, पत्रकारहरुको सहभागीता थियो ।