
आइतवार , भाद्र ३०, २०८१
भैरहवा, ३० भदौ ।
लायन्स क्लब अफ सिद्धार्थनगर युथले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रममा रहेका बालबालिकाहरुको जन्मदिन मनाइदिएको छ ।
क्लबले शनिबार तीनजना बालबालिकाहरुको जन्मदिन मनाएको क्लबको वर्ष २०२४/०२५ का का अध्यक्ष निकेश देव हटुवालले बताए । ६० औं राष्ट्रिय बाल दिवसको अवसर पारेर ‘हंगर रिलिफ प्रोग्राम’ अन्तर्गत बर्थ–डे सेलीब्रेशन गरिएको अध्यक्ष हटुवालले जानकारी दिए ।
केक काट्नुका साथै बालबालिकालाई उपहारस्वरुप चकलेट, फलफूल, खाजा, पोशाक, शैक्षिक सामग्री, बेड सिटसहित विभिन्न सामग्री प्रदान गरी जन्मदिन मनाएको कार्यक्रम संयोजक सुशील सिंघलले बताए । उनले भने, ‘मानौ कुनै बालबालिकाको जन्मदिन बुधबार परेको छ भने शनिबारको दिन हामी आश्रममा पुगेर जन्मदिन मनाउँछौं । कुनै हप्ता एक भन्दा बढी बालबालिकाको जन्मदिन परेको अवस्थामा पनि शनिबारको दिन संयुक्त रुपमा मनाउँछौं ।’आश्रममा रहेका बालबालिकाको मुहारमा मुस्कान देख्न पाइयोस् भन्ने उद्देश्यले यो कार्यक्रम गरिएको उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी), नेपालका डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले लायन्स क्लब अफ सिद्धार्थनगर युथले रचनात्मक कार्य गरेको बताए ।
कार्यक्रममा विशिष्ट अतिथि फस्ट फाइस डिष्ट्रिक गभर्नर बालाराम भट्टराई, नेपाल अविनाश अनाथ आश्रमका अध्यक्ष श्रीकृष्ण ज्ञवाली लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij