२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए शपथ

सोमवार , भाद्र ३१, २०८१

दाङ, ३१ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको सुखद भविष्य निर्माण गर्न तथ्य र प्रमाणमा आधारित योजनाहरुलाई अघि बढाउन प्रदेश योजना आयोगलाई निर्देशन दिएका छन् ।  प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको आकांक्षा पुरा गर्न प्रदेश योजना आयोगले तथ्य र प्रमाणमा आधारित योजनालाई अघि बढाउन निर्देशन दिए ।

‘पहिलो आवधिक योजनाको जगमा प्रदेश उभिएको छ । अब हामी दोस्रो आवधिक योजना निर्माणको अन्तिम चरणमा छौं’उनले भने,‘दोस्रो आवधिक योजनालाई पूर्णता दिन यहाँहरुको भूमिका प्रदेशले चाहेको छ ।’ प्रदेशको भाग्य भबिस्य रच्ने जिम्मेवारी योजना आयोगको रहेको चर्चा गर्दै मुख्यमन्त्री आचार्यले तथ्य र प्रमाणमा आधारित योजनालाई अघि बढाउन आग्रह गरे ।
उपाध्यक्ष र सदस्यहरुको शपथ

नवनियुक्त प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्याल र सदस्यहरु डा.सुदन कुमार वली, भुवन चौधरी र शान्ता देवि ढकालले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा सोमबार शपथ लिएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यले उपाध्यक्ष डा. डिल्लीराज अर्याललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए भने उपाध्यक्ष अर्यालले सदस्य डा.सुदन कुमार वली, भुवन चौधरी र शान्ता देवी ढकाललाई शपथ ग्रहण गराए ।

प्रदेश योजना अयोग गठन तथा कार्य सञ्चालन आदेश २०८० को दफा १६ बमोजिम उपाध्यक्ष तथा सदस्यहरुले आफ्नो कार्यभार सम्हाल्नुअघि अनुसुची २ बमोजिम ढाँचामा उपाध्यक्षले अध्यक्ष समक्ष र सदस्यहरुले उपाध्यक्ष समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगको उपाध्यक्ष र सदस्य नियुक्त गर्ने निर्णय गरेको थियो ।