
सोमवार , भाद्र ३१, २०८१
दाङ, ३१ भदौ ।
लुम्बिनी प्रदेश निजामती सेवा ऐन, २०८० लाई संसोधन गर्न बनेको विधेयक पारित भएको छ । प्रदेश सभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालद्वारा पेश प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
प्रदेश सभाको गत शुक्रवार बसेको बैठकमा पेश भएको संशोधन विधेकमा पाँचवटा संशोधन परेका थिए । परेका संशोधनलाई शुक्रवारै बसेको दोस्रो बैठकले प्रदेश मामिला तथा कानून समितिमा छलफलका लागि पठाउने निर्णय गरेको थियो ।
समिति सभापति दिल कुमारी बुढाको संयोजकत्वमा रहेको समितिले दफावार छलफलपछि प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदनसहितको विधेयक प्रदेशसभाको सोमबार (आज) बसेको पहिलो बैकमा पेश गरेकी थिइन् ।
२०८० असारको २२ गते प्रदेश सभामा पेश भएको प्रदेश निजामती कर्मचारी विधेयक भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो । यो विधेयकलाई प्रदेश प्रमुखले मंसिर २१ गते प्रमाणिकरण गरेका थिए ।
यसैबीच लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशन अन्त्यका लागि लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आज बसेको बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेशसभाको वर्षे अधिवेशनमा ३५ वटा बैठक बसे भने प्रदेश सभाबाट स्थानीय सेवा विधेयक, विपद् व्यवस्थापन विधेयक, प्रदेश निजामती कर्मचारी संशोधन विधेयक र आर्थिक वर्ष २०८१÷०८२ को बजेट खर्च गर्नका लागि बनेको विनियोजन विधेयक पारित गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij