२०८३, आषाढ १४ गते

Jun 28 2026 | २०८३, आषाढ १४ गते

असोज २ देखि ३६ औं झरना रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता

मंगलवार , आश्विन १, २०८१

  • 748
    Shares
  • 748
    Shares
  • भैरहवा, १ असोज ।
    स्व. खगी गुरुङसेनीको पुण्य स्मृतिमा ३६ औं झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिता–२०८१ हुने भएको छ । झरना स्पोट्र्स क्लब तिलोत्तमा–६ कुञ्जलापुर, रुपन्देहीको आयोजनामा यही असोज २ गते बुधबारदेखि प्रतियोगिता सुरु हुने भएको हो । आयोजकले सोमबार तिलोत्तमामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएका छन् । 

    उमा आधारभूत विद्यालयको खेलमैदानमा हुने प्रतियोगितामा १६ वटा टीमको सहभागीता रहने झरना स्पोटर्स् क्लबका अध्यक्ष तथा प्रतियोगिता मूल आयोजक समितिका संयोजक धनेन्द्र पौडेलले बताए । अध्यक्ष पौडेलका अनुसार सहभागी हुने टीममा झरना स्पोर्ट्स क्लब, सम्पूर्ण युवा क्लब, लिस्नु युवा क्लब, नव युवा खेलकुद तथा साँस्कृतिक परिवार, न्यू सिर्जना युवा क्लब, गोर्खा बोयस्, जन ज्योति एफ.सी., देवहद बोयस्, फुलबारी गाइज, योंग स्टार एफ.सी., कपिलवस्तु–११, भैरब एफ.सी., वालिङ युनाईटेड, फर्साटिकर युवा क्लब, सुनौलो संगम युवा क्लब र भू पु सैनिक युवा क्लब रहेका छन् । क्लबले खेलकुद प्रतियोगितासँगै समयसमयमा सामाजिक कार्य पनि गर्दै आएको उनले बताए ।

    खेल प्रत्येक दिन दिउँसो ३ बजेदेखि सुरु हुने खेल संयोजक विजय पुनले जानकारी दिए । प्रतियोगितामा प्रथम पुरस्कार रु. ३ लाख ३१ हजार, दोस्रो पुरुस्कार रु. १ लाख ८१ हजार, सेमी फाईलिस्ट रु. २५ हजार प्रदान गरिने म्याच कमिसनर मोहन सिंह रानाले बताए । त्यस्तै विधागत पुरस्कार अन्तर्गत म्यान अफ द म्याच रु. ३ हजार, ट्रफी (प्रत्येक खेलमा), बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर, बेस्ट स्ट्राइकर, बेस्ट गोलकिपर र बेस्ट कोचलाई रु. १० हजार प्रदान गरिने उनले जानकारी दिए । सर्वोत्कृष्ट खेलाडीलाई रु. १५ हजार पुरस्कार प्रदान गरिने उनले बताए । 

    क्लबका पूर्वअध्यक्ष लोक पुनले खेलमा टिकट वापत पहिलो चरणमा रु. ५०, दोस्रो चरण/सेमीफाइनलमा रु. १ सय र फाइनलमा रु. २ सय तोकिएको बताए । महिला, फरक क्षमता भएका तथा ज्येष्ठ नागरिकलाई प्रवेश शुल्क निःशुल्क रहेको उनले जानकारी दिए । आयोजकका अनुसार प्रतियोगिताको उद्घाटन असोज २ गते बुधबार दिउँसो २ बजे तिलोत्तमा नगरपालिकाका प्रमुख (मेयर) रामकृष्ण खाणले गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न २२ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएका छन् ।