
मंगलवार , आश्विन १, २०८१
भैरहवा, १ असोज ।
सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलनको सुदृढीकरण दोस्रो चरण अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–६ स्थित गौराभारीमा दुईदिने उद्यमशीलता सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न भएको छ । युन वोमन र टेवा समुहको आर्थिक सहयोग र नमुना एकीकृत विकास परिषद (नमुना) को आयोजनामा उक्त कार्यक्रम भएको हो ।
तालिममा २४ जना सामुदायिक सुरक्षा जालोका महिला सदस्यहरुको सहभागीता रहेको नमुनाका कार्यक्रम संयोजक राजेश जि.सी.ले जानकारी दिए । तालिममा शिवराज नगरपालिकाकी उद्यम विकास सहजकर्ता सीता साहु बस्नेतले सहजीकरण गरेकी थिइन् ।
विपन्न र सिमान्तकृत महिलाहरूलाई उद्यमी बनाउनको लागि के–कस्तो योजना निर्माण गर्न सकिन्छ र कसरी आफ्नो व्यवसाय सुरुवात गर्न सकिन्छ ? के कसरी व्यवसाय सुरुवात गर्दा नाफा कमाउन सकिन्छ ? लगायतका विषयमा उक्त तालिममा प्रकाश पारिएको नमुनाकी कार्यकारी समिति सदस्य रुविता पुलामी कार्कीले जानकारी दिइन् ।
अभिमुखीकरण तालिम सम्पन्न गर्न टेवा समुह ललितपुरबाट रुपा उदास र कविता भण्डारीको समेत उपस्थिति रहेको आयोजकले जनाएका छन् । आफूले सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतारेर उद्यमशीलता बन्ने प्रक्रियामा कार्यक्रम फलदायी भएको सहभागीहरुले प्रतिक्रिया दिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij