२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

देवदह शिक्षा विकास परियोजना कार्यान्वयनमा सघाउने प्रतिवद्धता

मंगलवार , आश्विन १, २०८१

रुपन्देही, १ असोज । 
संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति लुम्बिनी बौद्ध विश्वविद्यालयको अध्ययनमा आएको छ । संसदीय समितिका १० जनाको टोलीले विश्वविद्यालयको विभिन्न निकायहरुको अध्ययन गरेको छ । टोलीले मंगलबार रुपन्देहीको देवदहस्थित डिन कार्यालय तथा देवदह शिक्षा विकास परियोजना र बुटवलको नयाँ गाउँस्थित सिटी क्याम्पसको स्थलगत अध्ययन गरेको छ ।

सो अवसरमा देवदहमा आयोजना गरिएको परियोजना परिचयात्मक कार्यक्रममा बोल्दै संसदीय समितिका सभापति अम्मर बहादुर थापाले शिक्षा विकास परियोजना निकै महत्वपूर्ण रहेकाले यसको कार्यान्वयनमा सघाउने प्रतिवद्धता व्यक्त गरे । उनले लुम्बिनी बौद्ध विश्वविद्यालय स्थानीयस्तरदेखि अन्तर्राष्ट्रिय पहिचान बनाउन सक्ने क्षमताको रहेको भन्दै प्रवद्र्धनमा सरकारले नै काम गर्नुपर्ने बताए । देशमा रहेका विश्वविद्यालयमध्ये अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिने क्षमता लुम्बिनी बौद्ध विश्वविद्यालयसँग रहेको भन्दै उनले आफूहरुले समितिमा छलफल गरेर यसको विकासमा सरकारलाई ठोस निर्देशन गर्ने बताए ।

विश्वविद्यालयहरु पठनपाठनमा केन्द्रीत नभएर अनुसन्धानमा केन्द्रित हुनुपर्ने उनको सुझाव छ । विश्वविद्यालयले अनुसन्धान गरेर सो अनुसन्धान कार्यान्वयनका लागि सरकारलाई प्रतिवेदन दिनुपर्ने उनले बताए ।

समितिका सदस्य छविलाल विश्वकर्माले देवदहमा विश्वविद्यालयका लागि निकै प्रयासका बाबजुद जग्गा प्राप्ती भएको भन्दै त्यसको बहुउपयोग गर्नुपर्ने बताए । स्थानीय उपभोक्ताका आवश्यकता जोड्दै विश्वविद्यालय अगाडि बढिरहेको भन्दै उनले देवदहको परियोजनालाई सफल बनाउने जिम्मेवारी सबैले लिनुपर्ने बताए ।

त्यस्तै अर्का सदस्य देवेन्द्र पौडेलले विश्वविद्यालय अन्तर्राष्ट्रिय पहिचान बनाउन सक्ने भन्दै त्यसका लागि सरकारले विशेष जोड दिनुपर्ने बताए । देशका प्रधानमन्त्रीहरु अन्तर्राष्ट्यि फोरमहरुमा जाँदा लुम्बिनी बौद्ध विश्वविद्यालयको नाम र काम उच्चारण गरेर प्रवद्र्धन गर्नुपर्ने उनले बताए ।

बौद्ध दर्शन र शिक्षा अध्ययन गर्न बौद्ध राष्ट्र मात्रै नभइ विश्व समुदाय नै लुम्बिनी आउन लालाहित भएको भन्दै त्यसलाई उपयोग गर्ने दायित्व सरकार र विश्वविद्यालयको रहेको उनले बताए।

त्यस्तै अर्का सदस्य डिगबहादुर लिम्बुले बौद्ध विश्वविद्यालयले अगाडी बढाएको परियोजना  कार्यान्वयनमा समितिले सघाउने बताउँदै समुदायलाई जोडेर जान सुझाव दिए ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले विश्वविद्यालयले देवदहमा शिक्षा विकास परियोजना सुरुवात गरेको जानकारी दिए । प्राज्ञिक विकासका लागि अनुमानित ८ सय करोडको गुरुयोजना तयार भएको भन्दै उनले परियोजना अन्तर्गतका पूर्वाधार निर्माणका लागि दातृ निकायको खोजी भइरहेको बताए ।

चीन, थाइल्याण्ड, कोरिया, जापान, श्रीलंका, म्यानमारसहितका राष्ट्रहरुबाट सहयोगको प्रतिवद्धता प्राप्त भएको भन्दै उपकुलपति बज्राचार्यले बोर्ड ट्रष्टमार्फत दान संकलन गरिने बताए ।
विश्वविद्यालयका रजिष्टार डा. तिलकराम आचार्यले विश्वविद्यालयले तीन स्थानमा केन्द्रीत रहेर शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको बताए । ६ वर्षको प्रयासपछि देवदहमा विश्वविद्यालयले जग्गा प्राप्ती गरेको भन्दै त्यही जग्गामा शिक्षा विकास परियोजनाको काम सुरुवात भएको बताए ।

देवदहको विकास हुँदा स्थानीयलाई मात्रै नभइ सिंगो राष्ट्रलाई नै प्रत्यक्ष लाभ प्राप्त हुने उनले बताए । उनले विश्वविद्यालयका समस्या समाधानमा संसदीय समितिले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

IMG_20240917_153743.jpg

संसदीय समितिले बुटवलको सिट क्याम्पसको स्थलगत अध्ययन गरेको थियो । समितिसँग शिक्षा दिवसका अवसरमा असोज २ गते केन्द्रीय कार्यालयमा अन्तरक्रिया कार्यक्रम रहेको छ ।