२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी प्रदेशमा संविधान दिवस मनाइँदै, यस्ता छन् कार्यक्रम

बुधवार , आश्विन २, २०८१

दाङ, २ असोज ।
लुम्बिनी प्रदेश सरकारले संविधान दिवस–२०८१ विभिन्न कार्यक्रम गरेर मनाउँदै छ । बुधबार, बिहीबार र शुक्रबार तीन दिन विभिन्न कार्यक्रम गरेर प्रदेश सरकारले संविधान दिवस मनाउन थालेको हो । 

मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान दिवसलाई जनस्तरबाट भव्य रुपमा मनाउन आह्वान गरिसकेका छन् । सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पुर्याउन संविधानको कार्यान्वयनको पूर्ण कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै संविधान दिवसलाई भव्य रुपमा मनाउन आह्वान गरेका हुन् ।

असोज २ गते अर्थात बुधबार (आज) देखि प्रदेशस्थित सबै सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराइदैछ । कार्यालय परिसरमा सरसफाई र स्वास्थ्य मन्त्रालयको समन्वयमा रक्तदान कार्यक्रम गरिदैछ । 

त्यस्तै प्रदेश सरकारी निकायका वेभसाईटमा संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपले मनाउने बारेमा सूचनाहरु सार्वजनिक गरिएको छ । संविधान कार्यान्वयनको पहिलो दशक ः उपलब्धी र चुनौती विषय विज्ञसँग छलफल कार्यक्रम आज हुँदैछ । प्रदेश राजधानी परिसर क्षेत्रको लुम्बिनी हलमा कार्यक्रम आयोजना गर्न थालिएको हो । 

आम नागरिकलाई तीन दिन आ–आफ्नो घरको छत, वरण्डामा दिपावली गर्न प्रदेश सरकारले आह्वान गरिसकेको छ । असोज ३ गते बिहीबार (भोली) संविधान दिवसको मूल समारोह आयोजना गरिनेछ । विभिन्न साँस्कृतिक झाँकीसहित बिहान प्रभातफेरीको आयोजना गरिने भएको हो । लुम्बिनी प्रदेश राजधानी परिसर क्षेत्र राप्ती उपत्यका देउखुरीमा मूल समारोह हुँदैछ ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिनेछ । कार्यक्रम परिसर क्षेत्रभित्र स्वास्थ्य मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम गरिनेछ । जिल्ला समारोह समितिसँग समन्वय गरेर १२ वटा जिल्लास्थित अस्पतालहरुमा बिरामीको निःशुल्क प्रयोगशाला परीक्षण तथा आकस्मिक टिकट निःशुल्क गरिनेछ । 

त्यस्तै असोज ४ गते शुक्रबार उपयुक्त स्थान पहिचान गरेर प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय कार्यालयलय सम्बद्ध सरोकारवालाहरुको समन्वयमा वृक्षरोपण कार्यक्रम गर्ने जनाइएको छ ।