
बिहिवार , आश्विन ३, २०८१
भैरहवा, ३ असोज ।
जनता समाजवादी पार्टी (जसपा), नेपालले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने भएको छ । असोज ३ मा संविधान जारी भएको दिनलाई संविधान दिवसका रुपमा मनाइँदै आइएको छ । तर, जसपा नेपालले भने आजको दिनलाई कालो दिनका रुपमा मनाउन लागेको पार्टीको लुम्बिनी प्रदेश उपाध्यक्ष राम अवतार यादवले बताए ।
उनले भने, ‘२०७२ सालमा जारी गरिएको यो संविधान त्रुटीपुर्ण भएकाले संविधान दिवसमा जसपा नेपाल भाग नलिने, विरोध गर्ने र संविधानमा रहेका विभेदकारी एवं त्रुटीपूर्ण बुँदा परिवर्तन गरी संविधान संशोधनद्वारा संविधान सच्याउनका लागि हाम्रो संघर्ष जारी रहन्छ ।’
संविधान परिमार्जन र पुनर्लेखन गरी संघीय संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र सेना, प्रहरी, हरेक सरकारी निकायमा पूर्ण प्रतिनिधित्वको माग गर्दै विरोध र लडाइ जारी रहने उनको भनाइ छ ।
राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन नै नगरी संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, पूर्ण समानुपातिक समावेशीकरण लगायतका मुद्दा अधुरो र अपूर्ण हुनुका साथै संविधानमा विभेदकारी नीति राखिएकाले जसपा नेपालले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने उपाध्यक्ष यादवले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij