
बिहिवार , आश्विन ३, २०८१
दाङ, ३ असोज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकमा बढ्दो आकांक्षालाई सम्बोधन गर्न राजनीतिक दलमा दरिलो एकता, समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् ।
संविधान तथा राष्ट्रिय दिवस २०८१ को मुल समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको नारालाई सार्थक बनाउन सबै सरोकारवाला निकायको जिम्मेवारीपूर्ण भूमिका रहने बताएका हुन् । सम्वोधनको क्रममा उनले योजना निर्माण र कार्यान्वयनको तहमा लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा अग्रणी स्थानमा रहेको बताए ।
दीर्घकालीन लक्ष्य निर्धारण गरेर प्रदेश सरकारले योजनाबद्ध विकासलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेकाले अन्य प्रदेशको तुलनामा लुम्बिनी अग्रणी स्थानमा रहेको उनले बताए । ‘नेपालको संविधान, १६ औँ आवधिक योजना, दिगो विकासका लक्ष्य एवं अन्तर्राष्ट्रिय प्रतिवद्धता, लुम्बिनी प्रदेश सरकारको दोस्रो आवधिक योजनाको अवधारणा पत्र, दशवर्षे दीर्घकालिन रणनीतिक योजना, मध्यमकालिन खर्च संरचना, प्रत्येक वर्ष सालवसाली रुपमा प्रदेश सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम प्रति केन्द्रित रही बजेट तर्जुमा गरी कार्यान्वयन गरिरहेको अवस्था छ जसको कारण सातवटै प्रदेशमा लुम्बिनी प्रदेश अग्र स्थानमा छ’मुख्यमन्त्री आचार्यले भने,‘आर्थिक सुचाकंका हिसाबले कुल ग्रास्थ उत्पादन बढेर गएको छ । प्रतिव्यक्ति आय र बहुआयमिक गरिबीको दर घटेको छ । बाल मुत्युदर, मातृमृत्युदर समेत घटेको अवस्था छ । शिक्षा, स्वास्थ्य, सडक लगायत विकास पूर्वाधारहरुमा समेत नागरिकको पहुँचहरु वृद्धि भएको छ र सुशासन सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई नागरिक समक्ष पुर्याउने गरी हाम्रा कार्यक्रमहरु लक्षित छन् ।’
लुम्बिनी प्रदेश सरकारले पनि प्रदेश सभाबाट ७२ वटा कानून निर्माण गरी कार्यान्वयनमा ल्याइसकेको छ भने केही कानूनहरु निर्माणको चरणमा रहेको मुख्यमन्त्री आचार्यले बताए । तर, साझा अधिकार सूचीका कानूनहरु सबै नबन्दा केही कठिनाइ महसुस भएको उनले बताए । कानूनहरु संघीय सरकारबाट द्रुत गतिमा निर्माण गर्न प्रदेश सरकारले समन्वय र सहकार्य गर्न तत्पर रहेको उनले उल्लेख गरे ।
न्यून जनशक्ति, नयाँ स्थानमा प्रदेश राजधानीको व्यवस्थापन, प्रदेश गौरवका आयोजनाको सम्पन्नता तथा न्यून जनशक्तिको व्यवस्थापनका लागी आवश्यक कानून तर्जमा तथा परिमार्जन गर्ने गरी सरकार अघि बढेको उनले स्पष्ट पारे । ‘प्रदेशलाई सुशासन, प्रविधिमैत्री बनाइ नागरिकलाई पुर्याउने सेवामा थप प्रभावकारी बनाउने गरी समेत कार्य भइरहेका छन्’उनले भने,‘प्रदेशलाई भ्रष्टचारमुक्त बनाउन र हाम्रा कार्यशैलीहरुमा समेत मितव्ययीता तथा सदाचारी शैलीको विकास गर्दै नागरिकका गुनासाहरुलाई समयमै सम्बोधन गर्ने र सार्वजनिक पद धारण गरेका व्यक्तिले पालना गर्नुपर्ने आचारसंहिता तथा आयोजनाहरुको लागत कम गर्ने गरी प्रतिष्पर्धात्मक पद्धति अवलम्बन तथा अनुगमनको भरपर्दो व्यवस्था गर्ने गरी संयन्त्र निर्माण गर्नतर्फ हामी अगाडी बढेका छौं ।’
मुख्यमन्त्री तथा मूल समारोह समितिका अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता तथा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सभामुख तुलाराम घर्ती मगरले संविधानमा उल्लेखित अधिकारहरु कार्यान्वयन गर्न तीन तहका सरकारको बीचमा समन्वय, सहकार्य र सहअस्तित्वको मूल मर्मलाई आत्मसात् गरेर अघि बढ्न जरुरी रहेको बताउनु भएको छ । जनमुखी कानुन निर्माण गरेका छौं । हिजो बनाएका कानूनलाई समय सापेक्ष बनाउने गरी अघि बढ्ने छौं, ’उनले भने– ‘संविधानलाई इमानदारीपूर्वक संविधान कार्यान्वयनमा जुटौं । सबै दलको बीचमा सद्भावपूर्ण एकता कायम गरेर अघि बढ्नुपर्ने छ ।’
त्यस्तै निवर्तमान मुख्यमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता जोखबहादुर महराले समतामूलक समाज निर्माण गर्न, समृद्धि हासिल गर्ने आकांक्षा बोकेको संविधानको पूर्ण कार्यान्वयनमा सबै एक ठाउँमा उभिनुपर्ने बताए । ‘मुख्य सवाल संविधानको पूर्ण कार्यान्वयनको हो’उनले भने, ‘सवाल कार्यान्वयनको हो तर, अहिले संशोधनको बजार हल्ला चलाइदैछ ।’ राजनीतिक स्थायीत्वको लागि जनताबाट प्रत्येक्ष निर्वाचित कार्यकारी प्रमुख छान्ने गरी संविधान संशोधन गरेर जान सकिने उनले भनाइ राखे । सबै जातजाति, भाषाभाषीको राज्य सञ्चालनमा समान प्रतिनिधित्वको लागि समानुपातिक र समावेशी प्रतिनिधित्व प्रमुख उपलब्धि भएको, यसलाई संशोधन गरे मुलुक कमजोर हुने उनले बताए ।
पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले संविधानको मूल मर्म संघीयता र एकता भएको बताए । ‘प्रदेशलाई बलियो बनाउने गरी भूमिका बढाउनुपर्ने छ । समावेशीको अधिकार दिएको छ । संविधानको भरपुर उपभोग गर्नुपर्ने छ । तर, यो अवधिमा संविधान कार्यान्वयनले गति लिन सकेको छैन’उनले भने–‘बिना प्रहरीको प्रदेश सरकार हुन सक्दैन । संविधान दिवस मनाउँदै गर्ने तर, संविधान लागू गर्न नसक्ने अवस्थामा पुगेका हौं त ? हामी सबै एक ठाउँमा उभिनुपर्छ । अधिकार लिन दबाब दिनुस् । संविधान दिवस मनाउने मात्रै होइन, कार्यान्वयनमा जोड गरौं ।’
शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले प्रदेशले कानूनी आधार निर्माण गरिसकेकाले अव विकास र प्रतिफल नागरिक तहमा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताए । संविधानको पूर्ण कार्यान्वयनको लागि राजनितीक इमानदारीताको खाँचो पर्ने उनले बताए ।
झाँकी र प्रभातफेरीको उत्सव
संविधान दिवसलाई भव्य र रचनात्मक बनाउन विभिन्न समुदायको कला–संस्कृति झल्किने झाँकी प्रदर्शनी गरिएको छ । मगर, थारु, नेवार, ब्राहमण लगायतका समुदायले आ–आफ्नो समुदायको कला–संस्कृतिसहितको झाँकी प्रदर्शन गरेका हुन ।
संविधान दिवसलाई उत्सवमय बनाउन विविधतायुक्त झाँकीहरु प्रदर्शन गरिएको थियो । राप्ती नेवारी समाजले परम्परागत रोपाइ जात्रा, थारु समुदायको झाँकी, राप्ती स्काउट समूहले स्काउट झाकी, राप्तीको नौमती बाजासहितको झाँकी प्रस्तुत गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij