
बिहिवार , आश्विन ३, २०८१
पशुपति यादव
रोहिणी, ३ असोज ।
रुपन्देहीको रोहिणी गाउँपालिका–३ धकधई, स्वामीनगरस्थित श्रीराम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयले ६९ औं वार्षिक उत्सव तथा अभिभावक भेला समारोह सम्पन्न गरेको छ । २०१३ सालमा स्थापना भएको यो विद्यालयमा हाल २ हजार जना विद्यार्थीहरु पठनपाठन गरिरहेको विद्यालयले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा पूर्व कृषिमन्त्री छविलाल विश्वकर्मालेस्थापनाकालदेखि हालसम्म विद्यालयमा योगदान पुर्याउनेहरू प्रशंसनीययोग्य कार्य गरेको भन्दै धन्यवाद दिए । उनले प्राविधिक धारको पठनपाठनमैत्री कसरी बनाउने, प्राविधिक धारको लागि प्राविधिक सामग्री उपलब्ध गराउने आफ्नो तर्फबाट पहलकदमी हुने बताए ।
विद्यालयको आवश्यक पूर्वाधार तयार भएकोले अबको विद्यार्थीले स्नातक तहको पठनपाठन आफ्नै घरआँगनमा अध्ययन गर्न पाउने भएकाले स्नातक तह सञ्चालनमा सबैको साथ र सहयोगको आवश्यक रहेको उनको भनाइ छ । ‘यसको लागि विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन समेतको टोली स्नातक तहको पठनपाठन हुने निर्णयको प्रस्तावित प्रतिलिपि सिफारिससहित सम्बन्धित निकायमा जान र त्यसको अगुवाइ गर्न प्रतिबद्ध छु, ’उनले भने ।
नेकपा (एमाले) का सचिव समेत रहेका विश्वकर्माले यो विद्यालयलाई शिक्षाको केन्द्र बनाउने सबैको सहयोगमा हुने र त्यसमा आफ्नो साथ रहने बताए । साथै धकधईदेखि शंकरपुरको निर्माणाधीन अधुरो बाटो छिट्टै निर्माण कार्य सुरु हुने उनले बताए । ‘विद्यालयको गेटदेखि मनोहरापुर पजारकट्टी सशस्त्र क्याम्प र भगवानपुर–धकधईको सडक पनि सुरु हुन्छ । नयाँ गतिका साथ काम हुन्छ काम नगर्ने ठेकेदारलाई छुट हुने छैन, ’उनले भने ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अब्दुल हलिम खानले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य आशिष चौधरी, रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव, उपाध्यक्ष शिवकान्ति हरिजन, गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्री, शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सहायक मन्त्री ताहिर अलि, पूर्व प्रधानाध्यापक मोहम्मद ईद्रिशी, पूर्व प्रधानाध्यापक तारानाथ त्रिपाठी देवेन्द्रनाथ पाण्डे, रामजीत चौधरी, संजय गुप्ता, विष्णु चौधरी पूर्व विद्यालय व्यवस्थापन अध्यक्ष बैजनाथ सहानी, राजकुमार यादव, हरिगोपाल चौधरी, समाजसेवी जग्गादाता सतिश चन्द्र मिश्रा, प्रदिप पाण्डे, सरोज पाण्डे, जोगेन्द्र चौधरी लगायतका स्नातक तहको पठनपाठन सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा विद्यालय ब्यवस्थापनका समिति अध्यक्ष अमरनाथ त्रिपाठीले अभिभावकले ढुक्कसँग विद्यालयमा गुनासो गर्न सक्ने बताए । उनले हरेक महिना कक्षा शिक्षकसँग आफ्नो बालबालिकाको प्रगति विवरण लिन अभिभावकलाई आग्रह गरे । उनले विद्यालय व्यवस्थापन समितिको अगुवाइ र रोहिणी–३ वडा कार्यालयको सहयोगमा स्वच्छ खानेपानी, १ सय विद्यार्थी पढ्न सक्ने डिजिटल बोर्ड (स्मार्ट टिभी), विषयगत शिक्षकलाई उत्प्रेरणात्मक पुर्नताजगी तालिम, प्रस्तावित क्याम्पस निर्माणस्थलमा जान सडकको निर्माण गरिएको बताए । उनल सो स्थल जाने सडक पीसीसी ढलान गरिएको बताए ।
विद्यालयका सहायक प्रधानाध्यापक गिरधारी चौधरीको स्वागत तथा शिक्षक विरेन्द्र गौडको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij