२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मुलुकलाई अस्थिरतामा धकेलेर स्वार्थ पूरा गर्ने शक्ति सक्रिय हुँदैछन् : लिला गिरी

बिहिवार , आश्विन ३, २०८१

बुटवल, ३ असोज ।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य लिला गिरीले मुलुकलाई अस्थिरतामा धकेलेर आफ्नो स्वार्थ पूरा गर्ने उद्देश्यकासाथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरु लागिरहेको आरोप लगाएका छन् । उनले ठूला राजनीतिक दलहरुले केही गर्न सकेनन् भनेर हल्ला फिजाउने र उनीहरले लोकतन्त्र स्थापनका लागि खेलेका भूमिकाहरुलाई गलत ढंगले व्याख्या गरेर समाजमा अराजकता फैलाउने काम भएको बताउँदै चिन्ता व्यक्त गरे । 

मुलुकको राजनीतिक परिवर्तनलाई बचाउन ठूला दलहरुले अब सोच्नुपर्ने बेला आएको बताउँदै उनले सामाजिक अराजकता फैलाउने गतिविधिलाई रोक्नुपर्नेमा जोड दिए । 
एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर १० को दोस्रो अधिवेशनका अवसरमा बोल्दै गिरीले दलहरुले आफ्ना कमजोरी सुधार गर्नुका साथै स्थापित गरेका राजनीतिक मुल्य र मान्यताहरुलाई जनतामाझ बुझाउन आवश्यक रहेको उल्लेख गरे । 

पार्टीको मिसन चौरासीमा लाग्न नेता–कार्यकर्तालाई आह्वान गर्दै उनले स्थानीय, प्रदेश र संघमा समेत एमालेले बहुमत प्राप्त गर्ने गरी जनतामाझ जान नेता–कार्यकर्तालाई निर्देशन दिए । आगामी निर्वाचनमा एमालेलाई हार्ने अनुमति नभएको स्पष्ट पार्दै उनले हालसम्म गरेका सकारात्मक कामहरुको सन्देश जनतामा लैजाने काम पार्टी कार्यकर्ताले गर्नुपर्नेमा जोड दिए । 
राजनीतिक परिवर्तन होस् वा भौतिक पूर्वाधारको विकासमा एमाले नेतृत्वले गरेका राम्रा कामहरु जनतालाई बुझाउन नसकिएको बताउँदे उनले अब समीक्षासहित जनतामा जानुपर्ने बेला आएको उल्लेख गरे । 

d393d6bf-f7f6-41c5-92e4-7b4128ea6278.jpeg

त्यसै गरी एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बुटवल उपमहानगरका इञ्चार्ज गोपाल रानाले रुपन्देहीबाटै आर्थिक समृद्धिको सुरुवात गर्नुपर्नेमा जोड दिए । एमालेकै नेतृत्वमा रुपन्देही विकासको मोडेलको रुपमा स्थापित भएको उल्लेख गर्दै उनले अझ धेरै गर्न बाँकी रहेको समेत उल्लेख गरे । 

त्यस्तै प्रदेश कमिटी सदस्य बाबुराम भट्टराई, विमला श्रेष्ठ लगायतले बोल्दै बुटवललाई आर्थिक राजधानीको रुपमा स्थापित गर्नका लागि एमाले नेतृत्व आवश्यक रहेको उल्लेख गरे ।

पार्टीका वडा कमिटी अध्यक्ष कला केसीले आफ्नो कार्यकालमा गरेका विभिन्न गतिविधिहरुसहितको आर्थिक तथा सांगठनिक प्रतिवदेन प्रस्तुत गरेकी थिइन् । सचिव तिलक पराजुलीको सञ्चालन तथा उपाध्यक्ष टंक कुमार खड्काको स्वागतमा कार्यक्रम भएको थियो । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गरेको छ ।