
शनिवार , आश्विन ५, २०८१
दाङ, ५ असोज ।
लुम्बिनी प्रदेश सरकारले मानव वन्यजन्तु द्वन्द्व घटाउने उद्देश्यले वन्यजन्तुको सुरक्षित बासस्थान, आहारा प्रजातीको व्यवस्थापन गर्ने उद्देश्यले पानीको मुहान तथा सिमसार संरक्षण, वनभित्र संरक्षण पोखरी निर्माण लगायतका काम गरेको छ । गत आर्थिक वर्षमा ३१ वटा पानी मुहान तथा सिमसार क्षेत्रको संरक्षण गरिएको छ भने १३ वटा नयाँ संरक्षण पोखरी बनेका छन् ।
वन्यजन्तुको बासस्थान नासिदै जाँदा, आहाराको अभाव हुँदा र पानीका मुलहरु सुक्दा वन्यजन्तु मानव बस्तीतर्फ पस्न थालेको विभिन्न अध्ययनले देखाएको छ । वन्यजन्तुको सुरक्षित बासस्थान, आहारा र पानीको स्रोत सुनिश्चित गर्न प्रदेश सरकारले योजनाबद्ध काम गरिरहेको वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले बताए । ‘यो पोखरी पनि हामीले संरक्षणमा योगदान पुर्याउन बनाएका हौं । वन्यजन्तुलाई पानी खोज्दै बस्तीमा जान नपरोस् । वन्यजन्तुलाई वनमै राख्न सकिएको खण्डमा मानव वन्यजन्तुबीचको द्वन्द्व घटाउन सकिन्छ । यसबाट पानीको स्रोत पनि संरक्षण हुन्छ र वन्यजन्तुको प्यास पनि मेटाउँछ’उनले भने,‘वन्यजन्तुको बासस्थान सुधारका लागि प्रदेश सरकारले कार्यक्रम गरिरहेको छ ।’
लुम्बिनी प्रदेशमा मानव वन्यजन्तु द्वन्द्वका कारण गत आर्थिक बर्ष २०८०/०८१ मा ५ जनाको मृत्यु भएको र ८ जना घाइते भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
बर्दियामा ४ महिला तथा १ बालक गरी ५ जनाको मृत्य भएको थियो । १ वर्षको अवधिमा भेडा/बाख्रा २१७, गाई/भैंसी ३१, बंगुर ४५, हाँस/कुखुरा १८१ वटाको मृत्यु भएको छ भने स्याल, चितुवा, वन विरालो, निलगाई, अजिंगर, बँदेल, बाँदर गरी ४१ वटा वन्यजन्तुको पनि मृत्यु भएको छ । १४ वटा चितुवा र मृग समेत घाइते भएका छन् ।
वन्यजन्तुमैत्री पूर्वाधार निर्माणमा जोड
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गर्न वन्यजन्तुमैत्री पूर्वाधार निर्माण आवश्यक भएकाले सबै पक्ष संवेदनशील हुनुपर्ने बताउँछन् । पछिल्लो समय मानव वन्यजन्तु द्वन्द्वका घट्ना बढेका छन् । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अहिले पनि मानव वन्यजन्तु द्वन्द्वका घटनाहरुले चिन्तित बनाउँदै लगेको छ । प्रदेश सरकारले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायहरु खोजेर त्यसमा प्राथमिकता निर्धारण गर्न अपील गरेको छ । एक्लो सरकारी निकायको प्रयासले मात्र मानव वन्यजन्तुको द्वन्द्व समाधान गर्न नसकिने भन्दै यसमा सबै निकाय बीचमा सहकार्य हुनुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिए ।
वनभित्र वन्यजन्तुको आहारा व्यवस्थापनदेखि पानीको स्रोत वृद्धिमा योजना निर्माण गरेर काम थालिएको छ । ‘पुराना पानीका मुलहरु सुके । ती मुलहरुको संरक्षण गरेर फेरी पानी चल्ने बनाउनुपर्छ । सरकारले संरक्षण पोखरीसँगै पुराना पानीको मुल संरक्षण गरेर बचाउन कार्यक्रम बनाएको छ’उनले भने,‘वातावरणमा आउने असन्तुलनले मानव जीवन र पर्यावरणमा कस्तो असर पर्छ सबैलाई महसुस भएको विषय हो । वन, वातावरण, जैविक विविधताको संरक्षणबाट सबैको अस्तित्व बचाउन सक्छौं ।’
किन बढ्दै छ द्वन्द्व ?
लुम्बिनी प्रदेशमा मानव वन्यजन्तुको द्वन्द्व व्यवस्थापनको क्षेत्रमा अध्ययन समेत गरिएको छ । २०७८ सालमा सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनमा वन्यजन्तुको वासस्थान, आहार, विचरण लागयतका पक्षसँग मानवीय क्रियाकलापहरू प्रतिष्पर्धा गर्न वा बाझिन आइपुग्दा त्यस्ता क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व उत्पन्न भएको उल्लेख छ । जनसंख्या वृद्धिसँगै वन्यजन्तुहरूको प्राकृतिक आहार र वासस्थानको खण्डीकरण तथा संकुचन भएकाले तिनीहरू खाना र बासको खोजीमा मानवका खेती तथा बस्तीमा प्रवेश गर्दा मानव तथा वन्यजन्तुबीच द्वन्द्व बढिरहेको उल्लेख छ ।
हाल सामुदायिक वनमार्फत वन क्षेत्र पुनस्र्थापना हुँदै जाँदा पछिल्ला वर्षहरूमा वन्यजन्तुको पुनरागमन भएका कारण यो द्वन्द्व थप बढ्दो प्रतिवेदनमा समेटिएको छ । वन क्षेत्रमा पछिल्लो दुई दशकयता सामुदायिक वनको व्यवस्थापन मार्फत वन क्षेत्र विस्तार तथा वृद्धि, वन्यजन्तुको वासस्थानमा सुधार र सहभागीतात्मक चोरी सिकारी नियन्त्रण लगायतका कामहरूबाट वन्यजन्तुको संख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij