
आइतवार , आश्विन ६, २०८१
भैरहवा, ६ असोज ।
चित्रांस महिला समिति सिद्धार्थनगरको आयोजना तथा चित्रगुप्त युवा सेवा समिति सिद्धार्थनगरको सहयोगमा भैरहवामा चित्रांस सामूहिक जितिया कार्यक्रम गरिएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ स्थित चित्रगुप्त मन्दिर परिसरमा कार्यक्रम गरिएको चित्रगुप्त युवा सेवा समाजका अध्यक्ष रत्नेश मल्लिकले बताए ।
मीनु कर्णको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्यता, सिद्धार्थनगर–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव, सिद्धार्थनगर–६ का वडा सदस्य अनिल कुमार केसी, चित्रगुप्त युवा सेवा समितिका अध्यक्ष रत्नेश मल्लिकको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
चित्रगुप्त युवा सेवा समितिका सचिव विवेकानन्द मल्लिकको सञ्चालनमा भएको कार्यक्रममा मीना कर्ण, अनिता कर्ण, विन्दु मल्लिक, शान्ति मल्लिक लगायतले गीत को माध्यमबाट जितिया पर्वबारे जानकारी गराएका थिए । त्यस्तै चित्रगुप्त युवा सेवा समितिका पूर्व सचिव एवं अधिवक्ता दिलिप कुमार मल्लिकले जितिया पर्वको महत्वको बारेमा प्रकाश पारेका थिए ।
जितिया पर्व मैथिल समाजका लागि एक महत्वपूर्ण धार्मिक तथा साँस्कृतिक पर्व हो जुन विशेष गरी नेपाल र भारतका मिथिलाञ्चल क्षेत्रमा धूमधामले मनाइन्छ । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री सन्तोष कुमार पाण्डेयले जितिया पर्वको अवसरमा शुभकामना दिए । उनले भने, ‘लक्ष्य प्राप्ती गर्न लाग्नुपर्छ ।’ चित्रगुप्त मन्दिरका लागि आफूले सहयोग नगरेको भइ दायित्व निर्वाह गरेको बुझिदिन आग्रह गरे । जनताको सेवामा निरन्तर लागिपर्ने उनको भनाइ छ ।
सामूहिक रूपमा महिलाहरू व्रत बस्ने, पूजा–अर्चना गर्ने प्रचलन रहेको छ । यसले सामाजिक एकता र आपसी मेलमिलापलाई प्रोत्साहन गर्ने विश्वास गरिन्छ ।
व्रतको समापनमा महिलाहरू पूजा गरेर प्रसाद ग्रहण गर्छन् । व्रत तोड्दा परम्परागत मैथिली परिकारहरू खाइन्छ, जसले धार्मिक र साँस्कृतिक महत्वलाई अझ बढी प्रकट गर्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij