
सोमवार , आश्विन ७, २०८१
तिलोत्तमा, ७ असोज ।
लुम्बिनी विशिष्टीकृत सहकारी संघ लिमिटेडले रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित पश्चिम पहुनीमा स्थापना गरेको डेरी उद्योगले परीक्षण उत्पादन सफलतापूर्वक सम्पन्न गरेको छ । लुम्बिनी प्रदेशका १४१ वटा सहकारी संस्थाका ३ लाख ५० हजार भन्दा बढी शेयर सदस्यहरुको लगानीमा उच्च प्रविधिमार्फत स्थापित सो संस्थामा दुध उत्पादनपछिका सबै प्रक्रिया र त्यसबाट उत्पादन हुने सबै चिज उत्पादन गरी विक्रीवितरण गर्ने योजना बुनिएको संघका कार्यबाहक अध्यक्ष ज्ञानु पौड्यालले जानकारी दिइन् । दुग्ध उत्पादक किसानहरुलाई अब एकैठाउँमा दुध विक्री गर्ने र त्यहाँको उत्पादनलाई विक्रीवितरण गर्न सहजता हुने भएपछि पशुपालक किसानलाई समेत सहज हुने पौड्यालले बताइन् ।
लुम्बिनी प्रदेशका १४१ सहकारीको संयुक्त लगानी रहेको संघको कार्यसम्पादनले सहकारी संस्थाहरुको शेयर लगानीमा यो परियोजना कार्यान्वयनमा आएको हो । स्वचालित प्रविधि जडित यो डेरी उद्योगले अब छिट्टै आवश्यक कानूनी प्रावधानहरू पूरा गरी उत्पादनहरु बजारमा ल्याउने पौड्यालले जानकारी दिइन् । दुध, दही, घ्यु, मोही, पनिर, खुवा, आइसक्रिम, लगायतका दुध र दुधबाट बनेका सबै किसिमका उत्पादनहरु छिट्टै उत्पादन गरी बजारीकरण गरिने उनको भनाइ छ ।
सो अवसरमा बोल्दै लुम्बिनी विशिष्टीकृत सहकारी संघ लिमिटेडका फ्याक्ट्री इन्चार्ज समेत रहेकी मीना चिदीले सबै किसिमका प्रविधि जडान गरी सञ्चालनका लागि तयार रहेकोले उत्पादित वस्तु समेत परीक्षण गरिएको बताइन् ।
‘अबको केही दिनपछि हामी पूर्ण सञ्चालनमा ल्याउने छौं, तातो चिसो र हरेक मौसममा जनस्तरको स्वास्थ्यलाई ख्याल गर्दै यहाँका उत्पादनहरु निरन्तर हुनेछन् ’उनले भनिन् ।
५ बिगाहा क्षेत्रफलमा निर्माण भएको संरचनामार्फत सो सेवा ग्राहक तथा किसानहरुका लागि पस्किन लागेको उनको भनाइ छ ।
हालसम्म १४ करोडको योजना करिब करिब अन्त्यतिर आएकोले अब उत्पादन र बजारीकरणका काम मात्र बाँकी रहेको कार्यबाहक अध्यक्ष पौड्यालको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij