
सोमवार , आश्विन ७, २०८१
देउखुरी, ७ असोज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार माध्यमको संरक्षण र विकासका लागि प्रदेश सरकारले उपयुक्त निकास निकाल्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सञ्चार क्षेत्रमा देखिएका समस्या अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदन २०८१ बुझ्दै मुख्यमन्त्री आचार्यले सञ्चार माध्यमको संरक्षण, विकास र सबलीकरणमा प्रदेश सरकारले नीतिगत सुधार गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । सञ्चार समन्वय परिषद्का अध्यक्ष यमबहादुर गाहा (मिलन) को नेतृत्वमा कार्यदल गठन भएको थियो ।
यो कार्यदलले चालु आर्थिक वर्षमा प्रदेश सरकारले मिडिया क्षेत्रमा विनियोजन गरेको विभिन्न शिर्षकका बजेटहरुको अध्ययन गरेको थियो । बजेट निर्माण र कार्यान्वयनलाई एकद्वार प्रणालीबाट अघि बढाउने गरी सुझावसहितको प्रतिवेदन बुझाइएको हो ।
कार्यदलका संयोजक तथा सञ्चार समन्वय परिषदका अध्यक्ष यमबहादुर गाहासहित कार्यदलका सदस्यहरुले मुख्यमन्त्री आचार्यलाई ज्ञापनपत्र बुझाएका हुन् । कार्यदलले प्रतिवेदन बुझाउनुअघि मुख्यमन्त्री आचार्यसहित प्रमुख सचिव महादेव पन्थ, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रेखा कंडेलसँग छलफल गरेको थियो ।
प्रतिवेदन बुझाउँदै सञ्चार समन्वय परिषद्का अध्यक्ष गाहाले सञ्चार व्यवस्थापनलाई बलियो बनाउन प्रदेश सरकारले ध्यान दिनुपर्ने, एकद्वार प्रणालीबाट बजेट विनियोजन गर्ने र कार्यान्वयन गर्ने परिपाटीको विकास गर्न आग्रह गरे । सञ्चारलाइ बलियो बनाउन सके प्रदेश बलियो हुने उनले धारणा राखे ।
त्यस्तै राष्ट्रिय समाचार समिति (रासस) का पूर्व केन्द्रिय अध्यक्ष तथा वरिष्ठ पत्रकार डा.बालकृष्ण चापागाईले विज्ञापन नीतिमा परिवर्तन नल्याउँदासम्म सञ्चार माध्यम बलियो हुन नसक्ने भएकाले विज्ञापन नीति परिवर्तन गर्न माग गरे । सरकारले मुल सञ्चारका माध्यमसम्म बजेट पुर्याउन नसकेको समेत उनले बताए । व्यक्तिगत पहुँचको आधारमा हुने बजेट बाँडफाँडलाई निरुत्साहित गर्न उनले आग्रह गरे ।
प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुवँरले कार्यदलले बुझाएको प्रतिवेदन पूर्ण कार्यान्वयन गर्न माग राखे । मन्त्रीस्तरीय बैठकबाट कार्यदल गठन भएको र यसले सुझाएका सुझावहरुलाई पालना गर्न उनले आग्रह गरे । सञ्चारको बजेट समानुपातिक वितरण, लोक कल्याणकारी विज्ञापनको बजेटलाई बढाउनुपर्ने, सञ्चार समन्वय परिषद्लाई बलियो बनाउनुपर्ने माग राखे ।
कार्यदलका सदस्य नरेश केसीले यो प्रतिवेदन कार्यान्वयन नै निकासको बाटो भएको बताए । रासस लुम्बिनीका प्रमुख भरत केसीले सञ्चार समन्वय परिषद्लाई सक्रिय बनाउन ऐन संशोधन गरेर अघि बढाउनुपर्ने धारणा राखे । पत्रकार तथा कार्यदलका सदस्य दिनेश पाण्डेले प्रतिवेदनको पूर्ण कार्यान्वयन गरेर मिडिया क्षेत्रलाई बलियो बनाउन आग्रह गरे ।
प्रतिवेदन बुझाउने कार्यक्रममा सञ्चार समन्वय परिषद्का अध्यक्ष यमबहादुर गाहा, सदस्य नवराज कुँवर, नरेश केसी, डा. बालकृष्ण चापागाई, भरत केसी, दिनेश पाण्डे, गौतम भुसाल, दीपक घिमिरे, प्रदिप आचार्य, टीका बस्नेत, राजु खराल, चिन्ता परियार लगायत पत्रकारहरुको सहभागीता थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij