
मंगलवार , आश्विन ८, २०८१
भैरहवा, ८ असोज । चार खेलाडीको अर्धशतकीय पारीको मद्दतमा रुपन्देहीको भैरहवामा जारी लुम्बिनी प्रदेशस्तरीय अन्डर–१९ क्रिकेट छनोट प्रतियोगितामा रुपन्देही यु–१९ ले सानदार जीत निकालेको छ । रुपन्देहीले पाल्पा यु–१९ लाई २ सय ९१ रनले पराजित गर्दै जीत हासिल गरेको हो ।
मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ७३ रनको उच्च योगफल बनायो । उसका लागि विजय प्रजापतिले ९६, समीर अलीले ६८, सन्तोष साउदले ५७ र सन्तोष यादवले ५१ रनको अर्धशतकीय इनिङ खेले । बलिङमा पाल्पाका रोशन बस्याल, नरबहादुर सार्की र उदय महर्जनले समान २–२ तथा सुदर्शन भण्डारीले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको पाल्पा ३४ ओभर २ बलमा सबै विकेट गुमाउँदै ८२ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न रुपन्देहीका रमेश कुर्मीले ३, सुमित पराजुली र सुरज खड्काले समान २–२ तथा सागर गैरे र सन्तोष यादवले १–१ विकेट लिए ।
पाल्पाका अमित अधिकारीले ३३ र कुशल ढकालले १३ रन बनाउनबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । खेलमा रुपन्देहीका विजय प्रजापति म्यान अफ द म्याच घोषित भए ।
अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेशस्तरीय टीम छनोट गर्न प्रत्येक जिल्लाको फरक–फरक टीम बनाएर छनोट खेल भइरहेको प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङले जानकारी दिए । उनका अनुसार छनोट खेलपछि उत्कृष्ट खेलाडीलाई समेटेर लुम्बिनी प्रदेशस्तरीय यु–१९ क्रिकेट टिम घोषणा गरिने छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij