२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘हिरोज अफ पब्लिक अवार्ड–२०८१’ को तयारी अन्तिम चरणमा

मंगलवार , आश्विन ८, २०८१

भैरहवा, ८ असोज  ।
रुपन्देही युवा समूहले विभिन्न विधामा ११ जना व्यक्तिहरुलाई अवार्ड प्रदान गर्ने भएको छ । समूहले ‘हिरोज अफ पब्लिक अवार्ड–२०८१’ बाट ११ जनालाई सम्मान गर्ने भएको हो । 

यही असोज १२ गते शनिबार भैरहवामा कार्यक्रम आयोजना गरी अवार्ड प्रदान गरिने समूहका अध्यक्ष विशाल गुप्ताले बताए । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको गुप्ताले जानकारी दिए ।

भैरहवास्थित होटल बोधी रेडसनमा असोज १२ गते शनिबार दिउँसो १ बजेदेखि कार्यक्रम सुरु हुने रुपन्देही युवा समूहले जनाएको छ । ‘कार्यक्रम पूर्व सांसद् प्रमोद कुमार यादवको प्रमुख आतिथ्यतामा हुनेछ, ’ गुप्ताले भने । कार्यक्रममा रुपन्देही युवा समूहका प्रमुख सल्लाहकार अमित कुमार गुप्तासहित विभिन्न अतिथिहरुको विशेष उपस्थिति हुने उनले बताए ।

राजनीति, उद्योग/व्यवसाय, सामाजिक, सञ्चार, शिक्षा, स्वास्थ्य, चलचित्र र खेलकुद क्षेत्रमार्फत योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गरिने गुप्ताले जानकारी दिए । ‘विभिन्न क्षेत्रमार्फत रुपन्देहीलाई चिनाउन योगदान पुर्‍याएका ११ जनालाई सम्मान गर्दैछौं, ’उनले भने । त्यस्तै एकजनालाई यस वर्षको उत्कृष्ट युवा अवार्डबाट सम्मान गरिने उनले जानकारी दिए ।

समूहले आयोजना गरेको यो कार्यक्रम छैठौं संस्करण भएको कार्यक्रम संयोजक सुनिल वर्माले बताए । समूहले पहिलोपटक २०७६ सालमा हिरोज अफ पब्लिक अवार्डबाट विभिन्न व्यक्तित्वलाई सम्मान गरेको थियो ।

रुपन्देही युवा समूहले ‘हिरोज अफ पब्लिक अवार्ड’ प्रदान गर्नुका साथै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको संस्थापक आनन्द प्रसाद गुप्ताले बताए ।