
बुधवार , आश्विन ९, २०८१
भैरहवा, ९ असोज । नेपाल फर्मास्यूटिकल एशोसिएसन लुम्बिनी प्रदेश (एनपीए) ले विभिन्न कार्यक्रम गरी विश्व फार्मासिस्ट दिवस मनाएको छ । एनपीए लुम्बिनी प्रदेशले रुपन्देहीको भैरहवामा बुधबार बिहान ‘फार्मा वाक’ गरेको छ । मिलनचोकबाट सुरु भएको फार्मा वाक भीम अस्पताल लाइन हुँदै नगरका विभिन्न स्थानको परिक्रमा गरी बुद्धचोकमा पुगेर समापन भएको कार्यक्रम संयोजक सुदिप न्यौपानेले बताए ।
‘फार्मासिस्ट मिटिङ ग्लोबल हेल्थ निड्स ’भन्ने नाराका साथ दिवस मनाइएको नेपाल फर्मास्यूटिकल एशोसिएसन लुम्बिनी प्रदेश (एनपीए) का अध्यक्ष भोजराज बस्यालले बताए ।
त्यस्तै दिवसकै अवसरमा एनपीए लुम्बिनी प्रदेशको आयोजनामा बुधबार रूपन्देहीको तिलोत्तमा भलवारीस्थित सनराइज फुटसल ग्राउण्डमा फुटसल प्रतियोगिता ‘एनपीए लुम्बिनी फुटसल कप’ सम्पन्न भएको छ ।
फुटसलमा रुपन्देही कोरिडुर फर्मास्यूटिकल्स इण्डष्ट्रिज, कम्युनिटी फर्मासिस्ट, हस्पिटल फर्मासिस्ट, फार्मेसी कालेज लगायत विभिन्न क्षेत्रमा कार्यरत फर्मासिस्टहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा एसियन टाइटन्स, एशियन योद्धा, सिद्धार्थ फर्मास्यूटिकल्स, नेपाल रेमेडीज, बायोगेन रेमेडीज, बुटवल हस्पिटल प्रा.लि., दिउहर नेपाल, आका ग्रुप गरी ८ वटा टीमको सहभागीता रहेको आयोजकले जनाएका छन् ।
एशियन योद्धा र बुटवल हस्पिटल प्रा.लि.बीच भएको फाइनल खेलमा बुटवल हस्पिटल प्रा.लि.विजयी भइ प्रतियोगिताको उपाधि जित्न सफल भएको प्रतियोगिताका संयोजक सामुल थापाले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन गर्दै एनपीए केन्द्रीय उपाध्यक्ष वरिष्ठ फार्मासिस्ट अमृत गौरोले कार्यक्रम आयोजना गरेको भन्दै एनपीए लुम्बिनी प्रदेशलाई धन्यवाद दिए । उनले कार्यक्रममा उत्साहजनक उपस्थिति रहेको भन्दै आयोजकको प्रशंसा गरे ।
एनपीए लुम्बिनी प्रदेशका अध्यक्ष बस्यालले भने, ‘हाम्रो महत्व बुझ्न र हामीलाई समर्थन र सहयोग गर्ने फर्मास्यूटिकल्स व्यवस्थापन टोली, कम्युनिटी फर्मासिस्ट, हस्पिटल फर्मासिस्ट, फार्मेसी कालेज र अस्पताल व्यवस्थापन एचभीएएक्स टेक्नोलोजी प्रा.लि. मुम्बई, सूर्य मेडिसेल्स प्रा.लि. र बटौली मेडिको प्रा.लि.लाई धन्यवाद दिन चाहन्छु ।
एशियन फर्मास्यूटिक्लसकी वरिष्ठ फार्मासिस्ट सभियाता खनाल बस्यालको स्वास्थ्य सेवा प्रणालीमा फर्मासिस्टको प्रमुख भूमिका र महत्वका बारेमा भनाइ राखेकी थिइन् ।
एनपीए लुम्बिनी प्रदेशका अध्यक्ष भोजराज बस्यालको अध्यक्षता, कोषाध्यक्ष विष्णु प्रसाद आचार्यको स्वागत तथा सचिव सचिन अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij