
बिहिवार , आश्विन १०, २०८१
लुम्बिनी, १० असोज ।
लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायी सम्बद्ध व्यक्तिहरुबाट भएको हातपात र अभद्र व्यवहारप्रति विभिन्न ९ राजनीतिक दलहरुले निन्दा व्यक्त गरेका छन् ।
लुम्बिनी साँस्कृतिक नगरपालिकामा क्रियाशिल दलहरुले विहिबार एक प्रेस विज्ञप्ती जारी गरी राष्ट्रिय सभाका सदस्यहरु सहभागी कार्यक्रमस्थलमै पुगेर हुलहुज्जत गर्दै कोषका उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सचिवलाई गाली गलौज गर्नुका साथै लछारपछार गर्दै कुटपिट गरेको घटनाको निन्दा गर्दै दोषीलाई कारवाहीको माग गरेका हुन् । दलहरुले जिल्ला प्रशासनलाई सत्यतथ्य पत्ता लगाई समस्या समाधान गर्न माग समेत गरेका छन् ।
नेपाली काँग्रेस लुम्बिनी साँस्कृतिक नगर सभापति विन्दराम यादव, नेकपा (एमाले) लुम्बिनी साँस्कृतिक नगर समितिका उपाध्यक्ष मञ्जु ढकाल, नेकपा (माओवादी केन्द्र) नगर अध्यक्ष महेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी) नगर अध्यक्ष सफिउरहमान अन्सारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर सचिव रामाकान्त वर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नगर कोषाध्यक्ष हिन्दराज यादव, जनता समाजवादी पार्टी (जसपा) नगर उपाध्यक्ष हुसेनी लोध, जनमत पार्टी नगर सचिव बोजिउद्धिन मुसलमान र लोकतान्त्रिक समाजवादी पार्टीका नगर अध्यक्ष राफिक अहमद मुसलमानले हस्ताक्षर गरी विज्ञप्ती जारी गरेका हुन् ।
‘विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित प्रसारित समाचार र भिडियो अनुसार कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सदस्य सचिव सानुराजा शाक्यमाथि हातपात र लछारपछार गरिएको छ । यस सम्बन्धमा जिल्ला प्रशासनलाई सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाही गर्न जोडदार माग गर्दछौं’ विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा आन्दोलन गर्न र आफ्ना माग राख्न पाउने तर, संवाद र सहमतिबाटै निकास निकाल्न सकिने अवस्था हुँदा हुँदै यस खालको घटनाले विश्वमा लुम्बिनीको गरिमामा आँच आउनेतर्फ समेत सबै पक्षलाई सचेत गराइएको छ ।
दलहरुले लुम्बिनी विकास कोषलाई समेत निर्माण कार्यसम्पन्न गरेका निर्माण व्यवसायीहरुलाई भुक्तानीको सहज वातावरण मिलाउन समेत आग्रह गरेका छन् ।
विश्व शान्तिको मुहान, महामानव गौतम बुद्धको पवित्र जन्मस्थललाई शान्तिमय वनाउन आम नागरिक, सामाजिक संघ–संस्था तथा व्यवसायी सबैमा दलहरुले आग्रह गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij