२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

समतामूलक समाज निर्माण गर्न पुरानो मानसिकता त्यागौं : मुख्यमन्त्री आचार्य

शुक्रवार , आश्विन ११, २०८१

दाङ, ११ असोज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाज रुपान्तरण र सिमान्तकृत समुदायको सशक्तीकरणका लागि प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका छन् । दलित महिला संघ फेडोको आयोजनामा दाङको लमहीमा भएको दलित महिला सशक्तिकरण र समावेशीकरणको सवाल विषयक प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिमान्तकृत वर्गलाई राज्यको मूलधारमा ल्याउन सरकारले प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका हुन् ।

‘वर्गिय रुपमा कार्यक्रमलाई केन्द्रित गरिनुपर्छ’उनले भने–‘समाज रुपान्तरण, सामाजिक न्यायको लागि पुरानो मानसिकता त्याग्नुपर्छ । दृष्टिकोणमा परिवर्तन आयो भने विभेद पनि उन्मुलन हुन्छ । सरकारले समाज रुपान्तरणका लागि जागरण अभियानमा हाम्रो साथ छ ।’ 

कार्यक्रममा समग्र विकासको अवरोध, जातिय तथा लैंगिक विभेद रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ । संघका केन्द्रीय अध्यक्ष कला स्वर्णकारको अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासचिव रेणु सिजापतीले विभेद, उत्पिडन उन्मुलनको लागि संविधानको पूर्ण कार्यान्वयन जोड दिइन् ।

संघका संस्थापक अध्यक्ष दुर्गा सोवले दलित समुदायले अहिले पनि अन्यायपूर्ण जीवन बिताउन बाध्य हुनुपरेको बताउदै मान्छे भएर बाच्न पाउने अनुभुति दिलाउन सरकारलाई आग्रह गरिन् । उनले छुवाछूतको मानसिकता अझै हट्न नसकेको टिप्पणी गरिन् ।

नेपालको संविधान २०७२ ले दलित महिलाहरूको हकअधिकार सुनिश्चित गर्न महत्वपूर्ण प्रावधानहरू राखेको छ । स्थानीय तहमा कम्तिमा एक जना दलित महिला अनिवार्य रूपमा निर्वाचित हुनुपर्ने व्यवस्था गरेको छ ।संघका दाङ जिल्ला अध्यक्ष युवा कराराको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।