
शनिवार , आश्विन १२, २०८१
तिलोत्तमा, १२ असोज ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख (मेयर) रामकृष्ण खाणले आम नागरिकमा संस्कार र आचरण सुधारे दुर्घटना न्यूनीकरण आफै हुने बताएका छन् । सडकमा हुने दुर्घटना न्यूनीकारण गर्न सर्वप्रथम आफू सजग भएर ट्राफिक नियम तथा सडक नियम पालना गरे दुर्घटना न्यूनीकरण हुने उनको भनाइ छ ।
तिलोत्तमा नगरपालिका रुपन्देहीको आयोजनामा शुक्रबार नगरपालिकामा आयोजित सडक दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रमको सन्दर्भमा नगरप्रमुख खाणले यस्तो बताएका हुन् ।
नगरप्रमुख खाणले घर परिवारबाटै राम्रो संस्कार बसाल्नुपर्ने भन्दै घर, समाज हुँदै देशको लागि संस्कारयुक्त समाज निर्माण गरे सबैखालका सडक दुर्घटनाको जोखिमबाट बच्न सकिने बताएका हुन् । ट्राफिक, प्रहरी र जनप्रतिनिधिले मात्र कानूनको बारेमा कडाइ गरेर समाज सुधार नहुने भन्दै नगरप्रमुख खाणले आफैबाट सुधारका लागि प्रयास र कानून र मापदण्डको पालना नगरेसम्म दुर्घटना न्यूनीकरण नहुने भन्दै यसमा सबैको सहयोग अपरिहार्य रहेको समेत बताए ।
सो अवसरमा बोल्दै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले ट्राफिक नियम पालना गरे मात्र दुर्घटना न्यूनीकरण हुने बताइन् । उनले जहाँ पायो त्यहीबाट बाटो काट्ने, पैदल हिड्ने ठाउँमा सवारी कुदाउने, ओभर स्पिडमा सवारी हाँक्ने, जथाभावी ओभरट्याक गर्ने, ट्राफिक लाइट नहेरी नबुझी बाटो काट्ने, समय भन्दा अगाडी गाडी कुदाउने जस्ता सामान्य गल्ती र प्रवृत्तिले सडक दुर्घटनाको जोखिम बढेको बताइन् । सडक दुर्घटनाका बारेमा सबैमा चेतना दिलाउनुपर्ने बताउदै नगर उपप्रमुख चौधरीले यसमा हातेमालो गरी सबैको सहयोग जरुरी भएको बताइन् ।
ट्राफिक प्रहरी कार्यालय मंगलापुरका प्रहरी वरिष्ठ नायव निरीक्षक मिलन सिंहले सबैको सहयोगले कारवाहीको चिट काट्नु भन्दा सवारी दुर्घटना न्यूनीकरण गर्दै सभ्य समाजको निर्माण गर्न सहज हुने बताए । ट्राफिक र प्रहरीसँग हातेमालो गर्दै समाजमा सडक दुर्घटनाबारे जनचेतना जगाउन आफूहरु लागिपरेको समेत उनले बताए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्य, बालमैत्री शाखा प्रमुख अधिकृत शारदा भट्टराई, सबै सामूदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, सरोकारवाला निकायका प्रतिनिधि, बुद्धिजीवी, बाल संजालका प्रतिनिधि, महिला समूह, युवा क्लब प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सडक दुर्घटना न्यूनीकरणका बारेमा प्रश्नोत्तर एवं सडक चेतना, कानून र समाजपयोगी सडक मापदण्डका विषयमा छलफल समेत भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij