२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोटरी बुटवल चौतारीद्वारा गुरुकुलका बटुकहरुलाई शैक्षिक सामग्री प्रदान

शनिवार , आश्विन १२, २०८१


बुटवल, १२ असोज ।
रोटरी क्लब अफ बुटवल चौतारीले दुर्गा वैदिक संस्कृत विद्यापीठ गुरुकुलम् तिलोत्तमाका बटुक (विद्यार्थी) हरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
तिलोत्तमा नगरपालिका वडा नम्बर १ स्थित देवीस्थान नयाँमिलमा रहेको विद्यापीठमा अध्ययनरत बटुकहरुलाई क्लवले झोला, स्वीटर, कापीलगायतका शैक्षिक सामग्री प्रदान गरेको हो । 
विद्यापीठमा अध्ययनरत ५५ जना बटुकहरुलाई करिब १ लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री प्रदान गरिएको क्लबका अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिए । क्लबले आफ्नो २२१ औं नियमित बैठकसँगै शैक्षिक सामग्री प्रदान गरेको अध्यक्ष पौडेलले बताए ।
२०५३ सालमा स्थापित यो विद्यापीठमा हाल करिब १४५ बटुकहरु अध्ययनरत छन् । यहाँ कक्षा ६ देखि १२ सम्म पठनपाठन हुन्छ । 
नर्मदेश्वर शिवालय मन्दिर, दुर्गा वैदिक परमानन्द सन्यास आश्रम, वैदिक धर्म परिषदको केन्द्रीय कार्यालयसहित यो दुर्गा वैदिक संस्कृत विद्यापीठ १४ कठ्ठा क्षेत्रफलमा रहेको छ । यो विद्यापीठमा हालसम्म गुल्मी, स्याङ्जा, रुपन्देही, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, दाङ, प्यूठान, पर्वत, कास्की, तनहुँ, नवलपरासी, नवलपुर, बाँके, सुर्खेत, चितवन लगायतका जिल्लाहरुबाट छात्र बटुकहरु आएर निःशुल्क आवासीय भोजनसहित संस्कृत विषयसँगै कम्प्यूटर, नेपाली, अंग्रेजी, सामाजिक, गणित विषयहरु पढिरहेका छन् ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै १००८ स्वामी विवेकानन्द सरस्वतीजी महाराजले बिना स्वार्थ गरिएको सहयोग र सेवा नै सबैभन्दा ठूलो पुण्य काम भएको बताए । उनले यो विद्यापीठ यस्तै क्लब लगायत सामाजिक संघ–संस्थाहरुको सहयोगमा सञ्चालित रहेको भन्दै आगामी दिनमा पनि यस खालका कार्यक्रम ल्याउन आग्रह गरे ।
समाजमा आपसी समझदारी, सद्भाव, जातीय समानता, स्वतन्त्रता, धार्मिक सहिष्णुता कायम गर्न आधुनिक शिक्षासँगै संस्कृत शिक्षाले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले बताए । 
रोटरी बुटवल चौतारीका संस्थापक अध्यक्ष डा. विष्णु घिमिरेले आगामी दिनमा पनि विद्यापीठलाई सहयोग गर्ने गरी क्लवले आवश्यक योजना बनाउने बताए ।
कार्यक्रम रोटरीयन केशव पौडेलको संयोजकत्व र केशव भुसालको व्यवस्थापनमा गरिएको थियो ।