२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रुपन्देहीमा दुध बोक्ने गाडी खोलाले बगाएको आशंका, खोजतलास जारी

शनिवार , आश्विन १२, २०८१

भैरहवा, १२ असोज । 
रुपन्देहीको मर्चवार क्षेत्रमा दुध बोक्ने गाडी खोलाले बगाएको आशंका गरिएको छ । उक्त गाडीको खोजतलास जारी छ । सम्मरीमाई गाउँपालिका-५ स्थित रोइनिहवाबाट तिवारी दूध संकलन केन्द्रको भे १ च २६७६ नम्बरको सो गाडी संकलन केन्द्रबाट दूध लिएर शनिबार (आज) बिहान ५ बजे गएको थियो । उक्त गाडी हालसम्म पनि गन्तव्यमा नपुगेकोले खोजतलास भइरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । 

उक्त गाडीले दिनहुँ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पछाडीको बाटो हुँदै दुध ढुवानी गरिरहेको र आज पनि सोही बाटो प्रयोग गरिएको आशंका रहेको प्रजिअ अर्यालले बताए । उनले भने, ‘उक्त सडकमा पर्ने घाघरा खोलानिर बाटो निकै ओरालो रहेकोले सो ठाउँबाट गाडी बगाएको आशंकापछि सशस्त्र प्रहरी बलको टीमले खोजतलास गरिरहेको छ । तर, गाडी बगाएको प्रमाणित जानकारी आएको छैन । ’

मर्चवारको रोइनिहवाबाट भैरहवा, बुटवल लगायत विभिन्न ठाउँमा दुध पुर्याउन बिहान ५ बजे हिडेको उक्त गाडीसहित चालक र सह-चालक अहिलेसम्म सम्पर्कमा नआएको तिवारी दुध संकलन केन्द्रका सञ्चालक पुनेन्द्र तिवारीले बताए । दिउँसोसम्म सम्पर्कमा पनि नआएपछि प्रहरीलाई खबर गरी खोजतलास सुरु गरिएको उनले जानकारी दिए ।

WhatsApp Image 2024-09-28 at 3.47.14 PM (1).jpeg