
आइतवार , फाल्गुण २३, २०७७
भैरहवा, २३ फागुन ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६२ औं वार्षिक साधारणसभा तथा अधिवेशनमा उद्योगतर्फको कार्यसमिति सदस्यमा मंगल भण्डारी सबैभन्दा बढी मत ल्याएर विजयी भएका छन् । भण्डारीले १ हजार २ सय ८८ मत प्राप्त गरेर संघको कार्यसमिति सदस्य पदमा निर्वाचित भएको निर्वाचन अधिकृत शिव प्रसाद गौडेलले जानकारी दिए ।
यस अघि पनि संघमा कार्यसमिति सदस्यको पदमा निर्वाचित भइसकेका भण्डारी अहिले सबैभन्दा बढी मत ल्याएर विजयी हुन सफल भएका छन् । भण्डारीले सदस्य पदमा नै सबैभन्दा बढी मत ल्याउन सफल भएका छन् । पदाधिकारीमा उम्मेदवारी दिने सोच बनाएका उनले पछि सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए । यस क्षेत्रमा लोकप्रिय उद्योगी व्यवसायीको रुपमा परिचित भण्डारी जेसीआई सिद्धार्थ, नेपालका निवर्तमान अध्यक्ष समेत हुन ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को कठिन परिस्थितिमा पनि आफ्नो व्यक्तिगत स्वास्थ्यलाई भन्दा पनि समाजमा व्यापक रुपमा फैलिएको कोरोनाबाट संक्रमितहरुको उद्दारमा निरन्तर खटेको भन्दै भण्डारीलाई सिद्धार्थ उद्योग वाणिज्य संघले साधारणसभामा सम्मान समेत गरेको थियो । उनले कोभिड–१९ को समयमा कोरोना संक्रमित विरामीलाई आफ्नै सवारीसाधनमा राखेर अस्पताल पुर्याउँदै आएका थिए ।
कोरोनाको त्रासको बेला आफ्नै नीजि गाडीमा राखेर अस्पतालसम्म पुर्याएको भन्दै भण्डारीको प्रशंसा हुँदै आएको छ । भण्डारीको गाडीलाई ‘कोभिड एम्बुलेन्स’ नाम दिइएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij